अहिले वाम एकताको बेला होइन : प्रदीप ज्ञवाली

2.3k Shares

वैशाख ४, काठमाण्डौ । एमाले नेता प्रदीप ज्ञवालीले अहिले वामपन्थी एकताका लागि सही समय नभएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी लेख्दै ज्ञवालीले अहिलेको खाँचो आफैँभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने रहेको उल्लेख गरेका छन् । 

उनले अहिलेको पहिलो कदम भनेकै संकटको गाम्भीर्यबोध गरी निर्मम आत्मसमीक्षा र व्यापक सुधार-पुनर्गठनको विधिवत् प्रक्रिया अगाडि बढाउनु रहेको बताएका छन् । पहिले आफू तङ्ग्रिएपछि मात्रै सार्थक विमर्श र विषयगत सहकार्यको अर्थ हुनसक्ने ज्ञवालीको भनाइ छ ।

नत्र भने अहिले चलिरहेको वामपन्थी एकताको चर्चा बौद्धिक विलासितामा सीमित हुने ज्ञवालीले बताए । उनले अहिले चलेको वाम एकताको चर्चा आफ्नो घरभित्रका समस्या छिमेकतिर सारिदिने दाउपेचमा रूपान्तरित हुने सम्भावनाबारे पनि सचेत रहनुपर्ने आशय व्यक्त गरेका छन् । 

संकटलाई फराकिलो क्यान्भासमा राखेर हेरिनुपर्ने र सोहीअनुरूपकै नीति अवलम्बन गरिनुपर्ने ज्ञवालीको भनाइ छ । उनले अहिले एमालेसहित दर्जन बढी समूह ‘एकीकृत’ गरेर बनेको नेकपाले पनि धक्का खाएको बताउँदै पार्टीहरूका समस्या अलग-अलग भएझैँ समाधानको उपाय एउटै हुन नसक्ने बताएका छन् । 

'यतिबेला वामपन्थीसहित सबै पार्टीहरू समीक्षाको प्रक्रियामा छन् । धक्का एमालेले पनि खाएको छ, दर्जन बढी समूह ‘एकीकृत’ गरेर बनेको नेकपाले पनि । ‘विद्रोह’ गरेर बनेका संयुक्त या प्रलोपाहरूले पनि । समस्या एउटै छैन र समाधानको रेसिपी पनि एउटै हुन सक्दैन', ज्ञवालीले भनेका छन् ।

ज्ञवालीले स्थापित विधि, कानुनी प्रणाली र लोकतान्त्रिक संस्थाहरूको ठाउँमा ‘तिलस्मी नायक’ हरूले जादुमयी ढंगले सुनौला दिन ल्याइदिने विभ्रमले समाजको ठूलै हिस्सा प्रभावित भएको समयमा अहिले आफूहरू रहेको पनि उल्लेख गरेका छन् ।

 

सम्बन्धित समाचार