काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई आफ्नो भूमिका अझ जिम्मेवार र प्रभावकारी बनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूलाई कुनै एक क्षेत्र वा समुदायमा मात्र सीमित नहुन सुझाव दिँदै देशभरका उत्पीडित, पछाडि पारिएका तथा सीमान्तकृत समुदायको सशक्त आवाज बन्नुपर्ने बताए। उनले समानुपातिक प्रतिनिधित्वको मर्म भनेकै विविध समुदाय र राष्ट्रिय मूलधारबीच सेतुको काम गर्नु रहेको उल्लेख गरे।

उनका अनुसार समानुपातिक सांसदहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दाहरू उठाउनु भए पनि त्यसपछि राष्ट्रिय कानुन निर्माण र नीतिगत बहसमा सक्रिय सहभागिता आवश्यक हुन्छ।
प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्यको प्रतिबद्धता जनाउँदै समस्या समाधानका लागि प्रविधिको प्रयोगमा विशेष जोड दिन आग्रह गरे। साथै, छलफलमा उठेका तात्कालिक विषयमा आवश्यक फलोअप गरिने र सुझाव तथा समन्वयका लागि ‘डिजिटल माध्यम’ सधैं खुला रहने स्पष्ट पारे।
उनले समानुपातिक सांसदहरूले जनअपेक्षा अनुसार कार्य गर्दै समावेशी लोकतन्त्रलाई अझ सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।