काठमाण्डौ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले देशभर कमजोर नतिजा व्यहोरेको पृष्ठभूमिमा लुम्बिनी प्रदेशमा गरिएको समीक्षा कार्यक्रममा हारका कारणबारे तीव्र आत्मालोचना भएको छ ।
प्रदेशका १२ जिल्लाका २६ प्रत्यक्ष उम्मेदवारमध्ये जम्मा २ जना मात्रै निर्वाचित हुँदा २४ जना पराजित भएका थिए। समानुपातिकतर्फ पनि प्रदेशबाट एक जना पनि निर्वाचित हुन सकेनन् । यही पराजयको कारण खोज्न कांग्रेसले पहिलोपटक लुम्बिनीबाट प्रदेशस्तरीय समीक्षा सुरु गरेको हो ।
पार्टीका अनुसार यस्ता कार्यक्रम सातै प्रदेशमा सञ्चालन हुनेछन्दाङको भालुवाङस्थित होटल पौवामा आइतबार आयोजित कार्यक्रममा सहभागी अधिकांश नेताहरूले हारको मुख्य कारण ‘घात–अन्तर्घात’, भ्रष्टाचारको छवि, कमजोर संगठन र नयाँ दलको लहरलाई ठाने ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीभित्र संघीयता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले केन्द्रीय संरचनालाई ‘संघीय’ शब्दावलीमा रूपान्तरण गर्नुपर्ने धारणा राख्दै संगठन पुनर्संरचनाको आवश्यकता औंल्याए । तहगत रूपमा भातृ संगठन गठन, जातीय तथा भौगोलिक समावेशिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माले महामन्त्री प्रदीप पौडेलले चुनावी प्रचार शैली परिवर्तन भइसकेकाले पार्टीले पनि नयाँ ढंगले अघि बढ्नुपर्ने बताए । उपसभापति विश्वप्रकाश शर्माले संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा वक्ताहरूलाई चार मिनेट मात्रै बोल्न समय दिइएको थियो । समय नाघेपछि माइक नै काटिने व्यवस्था गरिएको थियो, जसप्रति केही नेताहरू असन्तुष्ट देखिए । माला–खादा नलगाउने पार्टी निर्णयअनुसार शीर्ष नेताहरूले ती सामग्री तुरुन्त हटाएका थिए ।