जनतालाई थप अधिकार दिने सन्दर्भमा संविधान संशोधन गर्न सकिने: प्रचण्ड

1.8k Shares

चैत्र २८, कठमाण्डौ ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मिचेर जनताको हकअधिकार खोस्ने काम भए सडक र सदनबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।

'संविधानभित्र रहेर सरकारले गर्ने राम्रा कामको सदैव समर्थन गर्छौँ, संविधान मिच्ने, जनताको हकअधिकार खोस्ने तथा राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ', संयोजक दाहालले भने । संघीयतालाई सुदृढ बनाउन र जनतालाई थप अधिकार दिने सन्दर्भमा संविधान संशोधन गर्न सकिने उनले बताए । उनले विद्यार्थी तथा कर्मचारीको ट्रेड युनियनको हकअधिकारबारे उठाइएका सवाललाई गम्भीररूपमा लिनुपर्ने बताए ।

संयोजक दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमा निर्वाचनबाट जुन शक्ति विजयी भए पनि सबैको जित हुने धारणा राखे । 'अर्को पार्टीले जितेपनि हामीले हारेको भन्न मिल्दैन । जुनसुकै पार्टीबाट आए पनि त्यो संविधान, गणतन्त्र, समावेशिताको जित हो', उनले भने ।

नेकपाका सहसंयोजक माधवकुमार नेपालले लोकतन्त्रको रक्षार्थ आफ्नो पार्टी बलिदान गर्न तयार रहेको बताए । उनले सामाजिक विभेद अन्त्य तथा जनअधिकार स्थापित गर्ने सवालमा अग्रपङ्क्तिमा उभिन महिला संघलाई निर्देशन दिए ।  

सम्बन्धित समाचार