रुकुम पूर्वका एमाले नेता मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, प्रचण्डले गरे स्वागत

2.9k Shares

काठमाडाैं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश कमिटी सदस्य कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । 

तत्कालीन नेकपा विभाजनपछि एमालेमै रहेका मल्ल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट तत्कालीन पाँच दलीय गठबन्धनविरुद्ध उम्मेदवार बनेका थिए । उनी तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्ण बहादुर घर्तिसंग पराजित भएका थिए । 

मल्ललाई नेकपाका संयोजक प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । शिक्षा क्षेत्रमा सक्रिय रहेका मल्ल समाजसेवामा समेत उत्तिकै सक्रिय देखिन्छन् । 

जनताको मुक्तिका लागि चलेको जनयुद्धका कठिन दिनहरू स्मरण गर्दै उनले सेनाद्वारा गिरफ्तारी, शिवपुरीमा सहनुपरेको यातना र त्यसपछिका राजनीतिक यात्राबारे धारणा राखे ।

Kailash Malla UML.jpeg

एमालेभित्र पारित भएका ७० वर्ष उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएकै दिनदेखि आफू निराश बन्दै गएको बताउँदै उनले पार्टीभित्र गुटगत स्वार्थ, भेदभाव र जनवादी केन्द्रीयताको हनन चरम सीमामा पुगेको आरोप लगाए । माओवादी पृष्ठभूमिबाट आएका कार्यकर्ताप्रति एमाले नेतृत्वमा देखिएको नकारात्मक व्यवहार, ‘आतङ्ककारी’ ट्याग लगाउने प्रवृत्ति तथा फरक विचार राख्नेहरूलाई बहिष्कार गर्ने चरित्रले आफू पीडित भएको उल्लेख गरे ।

रुकुमपूर्वको शिक्षा, स्वास्थ्य, पूर्वाधार र समग्र जीवनस्तर सुधारका लागि ‘फुटेर होइन, जुटेर’ मात्र लक्ष्य पूरा हुनसक्ने विश्वास व्यक्त गर्दै उनले एमालेमा बसेर उद्देश्यपूर्ण राजनीतिक योगदान असम्भव भएको स्पष्ट पारे ।

सम्बन्धित समाचार