काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ ।
पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले गुन्डुमा बसेको सचिवालय बैठकबाट महाधिवेशनस्थल फेर्ने निर्णय गरेको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकपछि सञ्चारकर्मीसमग प्रतिक्रिया दिदै महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडाैंमा गर्ने निर्णय भएको बताएका हुन् ।
महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने र प्रतिनिधि चयन मंसिर १३ गते शनिवार देशभर एकसाथ हुने बाइइएको छ ।
प्रतिनिधि चयनका लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानिएको छ भने एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १ हजार २ सय पार्टी सदस्य बराबर दुई जना खुला, एक जना महिला, एक जना ४० वर्ष मुनिका युवा गरेर हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा ४ जना निर्वाचित हुने एमालेले जनाएको छ । त्यसबाहेक अरेक ८ सय सदस्य संख्या थपिँदै जाँदा थप एक जना प्रतिनिधि चुनिने र त्यसमध्ये महिला अनिवार्य हुनेछन् ।
प्रतिनिधिमा न्युनतम एक तिहाई महिला सहभागिता गराउने दाबीसहित दलित पार्टी सदस्यहरुको हकमा उनीहरुका लागि जिल्ला निर्वाचनको इकाइ हुने र हरेक पाँच सय दलित प्रतिनिधिमध्येबाट एक जना प्रतिनिधि निर्वाचित हुनेछन् ।
आरक्षित क्षेत्रबाट (ट्रेड युनियन) मा प्रदेशलाई इकाई मानिएको र प्रदेशमा रहेका ट्रेड युनियनका पार्टीमा कार्यरत पार्टी सदस्यहरुमध्येबाट दुई जना महिला र पाँच जना खुला गरेर सात जना हरेक प्रदेशबाट निर्वाचित हुनेछन् । २३ वटा पार्टीका जनसंगठनबाट दुई जना महिला र तीन जना अनिवार्य हुने र महासंघीय ढाँचाका ६ वटा जनसंगठनबाट थप ७ जना प्रतिनिधि रहनेछन् । यस्तै, पार्टीका ३२ वटा विभागहरुबाट हरेक विभागबाट एक जना र केन्द्रिय कार्यालयबाट एक जना चयन हुनेछन् । प्रदेश कमिटीबाट तीन जना खुला र दुई जना महिला गरी पाँच जना निर्वाचित हुने र प्रवासमा रहेका ६ वटा महादेशस्तरका संगठनबाट हरेकबाट पाँच जनाका दरले निर्वाचित हुने ज्ञवालीले बताए।
९ सय ७० तल्लो संगठनहरुबाट, विशेष जिल्लाहरुबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, प्रवासबाट ३०, केन्द्रिय विभाग र कार्यालयबाट ३३, जनसंगठनबाट १२७ गरी करिव २ हजार १ सय सदस्य हुनेछन् । पदेनमा केन्द्रिय कमिटीबाट ३ सय ५४ जना, अनुशासनबाट २९, लेखाबाट ३०, निर्वाचनबाट २५ जना, सल्लाहकारबाट २५ जना गरी ४ सय ६४ जना पदेन प्रतिनिधि रहनेछन् ।
संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि जनपरिचालन गर्ने योजनाअनुसार देशभरका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कार्तिक २२ गते जनभेला, कार्तिक २५ गते प्रत्येक पालिकामा प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा कार्तिक २९ गते जनसभाको आयोजना गर्ने एमालेले निर्णय गरेको छ ।