असोज -६, काठमाण्डौ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले जेन–जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारलाई परिवर्तनको मार्गमा दृढ रहन आग्रह गरेका छन् ।
उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले अहिलेसम्म लिएका कदम, अभिव्यक्ति र नियुक्तिहरू सकारात्मक देखिएको उल्लेख गरेका छन् । तर, आन्दोलनको रापताप क्रमशः सेलाउँदै जाँदा पुरानै शक्ति र प्रवृत्तिहरू हावी हुने खतरा रहने चिन्ता पनि व्यक्त गरेका छ ।
भट्टराईले चेतावनी दिँदै भने, ‘यदि पुरानै शक्ति र यथास्थिति हावी भयो भने युवाहरूको असन्तुष्टि र आक्रोश पुनः विस्फोट हुन सक्छ ।’ उनले सरकारले आफ्नो निष्ठा विद्यमान शक्ति र यथास्थितिवादतर्फ नभई परिवर्तन र विद्रोही जेन–जीतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।
त्यसका लागि अन्य व्यवस्थासहित मन्त्रिपरिषद्लगायत सबै तहमा युवाको उचित सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव उनले दिएका छन् । भट्टराईले कम्तीमा पनि मन्त्रिपरिषद्का एक तिहाइ सदस्यहरू युवाहरूबाटै लिनुपर्नेमा जोड दिँदै भने, ‘यसरी मात्र सरकारले आन्दोलनको आशा र अपेक्षालाई सम्बोधन गर्न सक्छ ।’