अमेरिका आक्रमणमा उत्रिए जवाफ दिन्छाैंः मदुरो

5.3k Shares

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले भेनेजुएला अमेरिकी सेनाबाट आक्रमण भएमा त्यसको जवाफ दिन तयार रहेको बताएका छन् ।

अमेरिकाले क्यारेबियन क्षेत्रमा युद्धपोतको तैनाथीमा जुटेपछि मदुरोले सैन्य गतिविधिलाई भेनेजुएलामाथिको गम्भीर खतराको रुपमा लिएको बताएका छन् । उनले यो तैनाथीलाई अन्यायपूर्ण, अनैतिक र हिंसात्मक धम्कीका रूपमा चित्रण गरेका हुन् ।

मदुरोले पत्रकार सम्मेलनको आयोजना गर्दै भनेका छन्,  'यदि अमेरिका आक्रमणमा उत्रियो भने हामी संविधानअनुसार हतियार उठाउने अधिकार प्रयोग गर्नेछाैं ।' यद्यपी मदुरोले यो विषयमा थप विस्तृत योजना भने खुलाएनन्।

अमेरिकाले अहिले क्यारेबियन क्षेत्रमा युएसएस ग्रेभली, युएसएस जेसन डनहम, युएसएस स्याम्पसन र युएसएस लेक एरीजस्ता युद्धपोत तैनाथ गरिसकेको छ। त्यस्तै, थप तीनवटा युद्धपोत र चार हजारभन्दा बढी सैनिकसमेत छिट्टै उक्त क्षेत्रमा प्रवेश गराउने तयारी गरिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्र फैलिएको फेन्टानिललगायत लागूपदार्थ नियन्त्रण र हिंसा रोक्न सेनाको प्रयोग गर्न दबाब दिएका कारण यो तैनाथी गरिएको बताउदै आएका छन् ।

यसैबीच, भेनेजुएलाका विदेशमन्त्री यवान गिलले संयुक्त राष्ट्रसंघको रिपोर्ट उद्धृत गर्दै अमेरिकी नौसैनिक तैनाथी गलत सूचनामा आधारित रहेको बताए। उनका अनुसार, कुल उत्पादित कोकेनमध्ये ८७ प्रतिशत कोलम्बियाबाट प्रशान्त हुँदै जान्छ भने केवल ५ प्रतिशत मात्र भेनेजुएलाको बाटो प्रयोग गरेर लैजान खोजिने गरेको उनको दाबी छ ।

गिलले भेनेजुएलामाथिको सम्भावित आक्रमण सम्पूर्ण क्षेत्रको स्थायित्वका लागि खतरनाक हुने भन्दै अमेरिका तुरुन्तै आफ्नो सैन्य उपस्थिति फिर्ता लिनुपर्ने माग गरे।

सम्बन्धित समाचार