काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले उखु किसानहरूका जायज मागहरू प्रति सरकार बेखबर बनेको भन्दै कडा आपत्ति जनाएको छ।
महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उखु उत्पादनसँग सम्बन्धित अनुदान कटौती, मूल्य निर्धारण र बक्यौता भुक्तानीको विषयमा तत्काल पहल गर्न सरकारलाई आग्रह गरिएको छ।
सरकारले ५० प्रतिशत उखु अनुदान कटौती गरेको भन्दै महासंघले अघिल्लो वर्षको करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको अनुदान पनि भुक्तानी गर्नुपर्नेमा जोड दिएको छ ।
यस्तै, विगतमा उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहँदा पनि उखुको न्यूनतम समर्थन मूल्य निकै कम निर्धारण गरिएको भन्दै किसानहरूलाई निरुत्साहित बनाउने नीति तत्काल सुधार गर्नुपर्ने माग गरिएको छ।
महासंघले सरकारसमक्ष कटौती गरिएको अनुदान पुनर्स्थापना गर्नुपर्ने, बाँकी अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु १,००० निर्धारण गर्नुपर्ने तथा किसानलाई रोगप्रतिरोधी उखु बीउ, तालिम, बीमा, अनुदान, सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था गराउदै वीरगञ्ज र लुम्बिनी चिनी कारखाना सञ्चालनमा ल्याउन समेत जोड दिएको छ ।
किसानहरूको सहभागितामै नीति निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै महासंघले माग पुरा नभए संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ । साथै, देशभरका उखु किसानहरूलाई अखिल नेपाल उखु उत्पादक किसान संघ (क्रान्तिकारी) मा संगठित हुन समेत अपिल गरिएको छ ।
विज्ञप्तिः
