कञ्चनपुर, ६ असार । खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१० स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ । बाँसको प्रयोग गरी नदीले भू–क्षय गर्दै आएको ३०० मिटर क्षेत्रमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ ।
उपकरणको सहायताले नदीमा बाँस गाडेर त्यसमा बाँसकै छेस्काले बुनेर जैविक तटबन्ध निर्माण गर्ने कार्य गरिएको नगरपालिकाको पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए । जैविक तटबन्ध निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत भई १०० दिनको रोजगारीका लागि छनोट भएका व्यक्तिहरुलाई परिचालन गरिएको उनले बताए ।
“बाँसको जैविक तटबन्ध उपयोगी, वातावरणमैत्री र कम लागतमै निर्माण हुन्छ”, उनले भने, “कटान रोक्न, नदी तटीय क्षेत्रको प्राकृतिक पुनःस्थापना गर्न सहायक हुन्छ ।”
जैविक तटबन्ध निर्माण भएको क्षेत्रको तटीय क्षेत्रमा बोट बिरुवा, घाँसपात रोप्ने तयारी भइरहेको शाखा प्रमुख धामीले उल्लेख गरे । घाँस र बोटबिरुवाको जराले माटोलाई बाँधेर राख्ने कार्य गर्छ, भूक्षय हुन नदिने भएकाले त्यसका लागि कार्य अगाडि बढाइने उनी बताउँछन् ।
सस्तो र स्थानीय साधनस्रोतमै निर्माण हुने जैविक तटबन्ध वातावरणमैत्री र दीर्घकालीन संरक्षणको उपायका रुपमा रहेको शाखा प्रमुख धामीको भनाइ छ । सो क्षेत्रको भूक्षयको उच्च जोखिममा रहेको ठाउमा भने जलस्रोत तथा सिँचाइ विभागको रु १५ लाखको लागतमा ९० मिटर तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ । रासस