भक्तपुर, चैत ९ गते । गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ।
उहाँ गोरखापत्र संस्थानमा २०५६ सालमा कार्यकारी अध्यक्ष हुनुभएको थियो । राससका अनुसार, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरूले भेन्टिलेटरमा राखेर उपचार गरे पनि उहाँलाई बचाउन सकेनन्।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ । गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक पनि हुनुहुन्थ्यो।
राजनीतिमा समेत सक्रिय बस्नेत नेपाली कांग्रेसका नेता गणेशमान सिंहका निकट थिए। उहाँले गणेशमान सिंह स्मृति वाटिकाका अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो। २०१७ सालदेखि राजनीतिमा संलग्न बस्नेत प्रजातन्त्र स्थापनाका विभिन्न आन्दोलनहरूमा सहभागी हुनुहुन्थ्यो। सोही क्रममा उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको थियो, जसबाट २०४६ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् उहाँ मुक्त हुनुभएको थियो। बस्नेतका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ।