चैत ५, काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले दर्ज्यानी चिन्ह लगाएका छन् ।
गृहमन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले थापालाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो ।सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो ।
नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा थापा नियुक्त भएका थिए ।
सरकारले वरिष्ठताका आधारमा थापालाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताउनु भयो । अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहाना र विकल्प बिना अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा अमन चयन र कानुनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने बताउनु भयो ।
नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०६३ भदौ ८ गते डीएसपी बने । २०७२ साउन ८ मा एसपी बनेका उनी २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भए । त्यस्तै २०७९ असार १७ मा डीआईजी बनेका उनी २०७९ चैत ६ मा एआईजी बनेका थिए ।