पुस २८,काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरसमेत भएको मिथ्या (फेक) प्रेस विज्ञप्ति सार्वजनिक भएपछि गठबन्धन सरकारबारे अन्योल सिर्जना गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘‘हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । साथै, यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा नेपाली कांग्रेस अनुरोध गर्दछ ।’’ सो पत्रमा भनिएको छ । 