मंसिर २७, काठमाण्डौं । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पर्सामा बयान सकिएपछि बुधबार काठमाडौं हुँदै पोखरा लगिएको छ। कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनले यसबीचमा कास्की, रुपन्देही, चितवन, काठमाडौं र पर्सासहित पाँच जिल्लामा बयान दिइसकेका छन् ।
गितेन्द्रबाबु राई (जीबी) समेत सञ्चालक रहेका सूर्यदर्शन सहकारी, सुप्रिम सहकारी, सहारा सहकारी, हाम्रो सानोपाइला सहकारी र स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगी र हिनामिना प्रकरणमा रविलाई पाँच जिल्लामा घुमाएर बयान लिइएको हो ।
बुधबार कास्की पुर्याइएका उनलाई त्यहाँस्थित प्रहरीले हिरासतमा लैजानुअघि स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल लगेको छ । जहाँ उनको स्वास्थ्य परीक्षण हुँदा रक्तचाप अझै बढेको देखिएको छ । कास्कीमा रक्तचाप बढेर १७०/१०० देखिएको उनका प्रेस सल्लाहकारसमेत रहेका पत्रकार प्रमोद न्यौपानेले बताए ।
पर्सामा स्वास्थ्य जाँच उर्दा उनको रक्तचाप १६०/११० देखिएको थियो । तर पोखरा पुर्याउँदा रक्तचाप अझ बढेको पाइएपछि फिस्टेल अस्पतालका चिकित्सकले भर्ना भएर उपचारमा रहन सुझाएका थिए । तर रविले अस्पतालमा भर्ना हुन अस्वीकार गरेका छन् ।
अस्पतालका फिजिसियन डा. वसन्त ताम्राकारले लामिछानेको रक्तचाप उच्च अवस्थामा रहेको बताए । स्वास्थ्य परीक्षणबाट लामिछानेको सिस्टोलिक (माथि) १७० र डायस्टोलिक(तल) ११० देखिएको उनले बताए । मुटुको चालमा पनि समस्या देखिएको पछि इको परीक्षण गरेर उनलाई अस्पतालमा भर्ना हुन भनिएको थियो । डा. ताम्राकारले रक्तचाप बढिरहेकाले यस्तो अवस्थाका व्यक्तिले भर्ना भएर निगरानीमा बस्नुपर्छ । तर रविले हिरासतमै औषधि लिएर आराम गर्ने जवाफ ताम्राकारलाई दिएका छन् । उनलात्तई अस्पताल भर्ना हुन परिवारका सदस्य र सचिवालयका सदस्यले पनि भनेका थिए । तर उनले मुटु दह्रो रहेको बताउँदे हिरासतमै बस्न गएका हुन् । लामिछानेलाई चिकित्सकले औषधि दिएका छन् ।
।
रविसहित हिरासतमा रहेकाहरूलाई सहकारी ठगीसम्बन्धी ऐनमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको छ । त्यससँगै संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा ९० दिन हिरासतमा राख्न पाइने कानुनी प्रावधान अनुसार उनीहरूलाई तीनै कसुरमा अनुसन्धान गरिएको हो ।
सम्पत्ति शुद्धीकरणमा प्रहरीले अभियुक्तलाई ९० दिन हिरासतमा राख्न सक्छ । त्यहीकारण रवि र छवि दुवैलाई लामो समय हिरासतमा राखिएको हो । छवि पक्राउ परेको मंगलबार ८० दिन पूरा भएको छ । अब छवि पक्राउ परेको समयअनुसार नै अबको १० दिन अर्थात् ९० दिनभित्र अनुसन्धान सकेर मुद्दा अदालत लैजानुपर्ने चुनौती प्रहरीलाई छ।