मेरो तेस्रो कार्यकाल उपलब्धिका हिसाबले महत्त्वपूर्ण रह्यो : प्रचण्ड

1.9k Shares

मंसिर २३, काठमाण्डौं । ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन् ।

समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पुर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवाद निर्माणको अभियानमा लागिरहेको बताएका हुन् ।

‘मैले अहिलेसम्म तीन पटक सरकारको नेतृत्व अवसर पाएँ, हरेक पटक नवीनताको सुरुवात गरेको छु,’अध्यक्ष प्रचण्डले भने,  ‘पहिलो कार्यकालमा पहाडी क्षेत्र मै सुविधा पुर्‍याएर बसाइसराइ रोक्ने उद्देश्यसहित मध्यपहाडी लोकमार्गको सुरुवात र गरिबको कृषि ऋण मिनाहा, दोस्रो कार्यकालमा संविधानको कार्यान्वयन र लोडसेडिङमुक्त नेपालको नेतृत्व मेरा महत्त्वपूर्ण प्रयास थिए ।’

तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रचण्डले यसले जनतालाई नयाँ आशा जागृत गर्ने ढोकासमेत खोलेको दाबी गरेका छन् ।

‘म तेस्रो पटक प्रधानमन्त्री हुँदा धेरैतिर निराशा थियो, भ्रष्टाचार डरलाग्दो गरी मौलाइरहेको थियो भने विभिन्न स्वरूपका विभेद समस्याको रूपमा देखिन थालेका थिए । आर्थिक रूपमा नेपाल जर्जर अवस्थामा थियो,’ उनले आफ्नो तेस्रो कार्यकालको उपलब्धि स्मरण गर्दै भने,  ‘त्यो बेलामा मैले थालेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानले जनतामा पर्न थालेको आशा जगाउने काम मात्रै गरेन, यसले समाजवाद निर्माणको ढोकासमेत खोलेको छ ।’

अब आफू सुशासन, सामाजिक न्याय र समृद्धिको यही एजेण्डामार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्ने उल्लेख गर्दै उनले सहयोगका लागि सबैलाई आग्रह समेत गरेका छन् ।

 

सम्बन्धित समाचार