१८ मंसिर, काठमाडौं ।व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिटमाथि सर्वोच्च अदालतमा दायर रिट आज पनि हेर्न नभ्याईेनेमा परेको छ । न्यायाधीशद्धय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएकोमा समय अभावको कारण हेर्न नभ्याईएको हो । सो रिट आज सातौं पटक पेशीमा परेको थियो । तर, सातौं पटक नै हेर्न भ्याईएन ।
पटक–पटक यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको छ ।व्यवसायी गुरूङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन सो जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । एमालेले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट घुसवाफत जग्गा दान लिएको रिट निवेदकको दाबी थियो ।
भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका बनाउनका लागि १० रोपनी १४ आना जग्गा असोज २५ गते दिएका थिए ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही दिन पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्याससमेत गरिसकेका थिए । सो मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।