मङ्सिर १५, काठमाडौँ। प्रतिनिधि सभा सदस्य डा। अमरेश कुमार सिंहले मानव तस्करीका आरोपित एमाले नेता एवं कोशी प्रदेशका पूर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिललाई थुन्नुपर्ने बताएका छन् । उनले एमाले नेता अधिकारीसँगै जापान गएकाहरुविरुद्ध मुद्दा दायर हुने र उनलाई उन्मुक्ति दिनुले यो काम दवाबमा भएको पुष्टि हुने बताए ।
कोशीका पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिललाई पक्राउ गरी थुनेर कसको दवाबमा यो भएको भन्ने कुरा बाहिर ल्याउनुपर्ने धारणा उनले राखे । कोशी प्रदेशका पूर्व मन्त्री अधिकारीलाई मानव तस्करीको आरोपमा उन्मुक्ति दिनु दण्डहीनताको पराकाष्ट भएको उनको टिप्पणी छ ।
‘आज विधिको शासन छ ? विधिको शासन भएको भए मलाई बताउनुस्, एउटै घटनामा अरुलाई मुद्दा चल्ने, कुनै पार्टीको नेता, मन्त्री वा प्रदेश सभा सदस्यलाई मुद्दा नचल्ने । कहाँबाट अधिकार पायो त्यो सरकारी वकिलले ? त्यो सरकारी वकिललाई थुन्नु पर्छ कि पर्दैन ? त्यसलाई थुन्नुपर्छ । जसले त्यो निर्णय गरेको छ, जसकाले दवाबमा गर्यो । निर्णय गर्नेलाई थुन्नुपर्छ । त्यसलाई कारबाही गर्नुपर्छ । दण्डहीनताको पराकाष्ट भइरहेको छ,’