काठमाडौं, कार्तिक ३० । दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप आज बिहान ४ बजेतिर दुर्घटनामा परेको हो । पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालका अनुसार जिप दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलीप बिष्ट र ४० वर्षीया मिना लेखक, शैल्यशिखरकै वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका–५ का ५० वर्षीय वीरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजीव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल गरी आठ जना छन् । पाँच जनाको घटनास्थलमै र बाँकी तीन जनाको उद्धार गरेपछि उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।
मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किदै गर्दा घर नपुग्दै आठ जना जिप दुर्घटनामा परी मृत्यु भएपछि दार्चुलावासी स्तब्ध भएका छन् । जात्रामा २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको भए पनि ट्राफिक नियमको पालना नभएको भन्दै आलोचना भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।