कार्तिक २५, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले थप २५ दिनको म्याद मागेको छ ।
कास्की जिल्ला अदालतमा लामिछानेको म्याद थपबारेको बहस न्यायाधीश नवराज दाहालको एक नम्बर इजलासमा भइरहेको छ । लामिछानेलाई चौथो पटक म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई तेस्रो पटक कार्तिक २० गते अदालत पेश गरिएको थियो ।
त्यो दिन प्रहरीले कार्तिक १४ गतेदेखि लागू हुने गरी १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले म्याद पाएकोमा उक्त म्याद आज सकिएको हो । रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो। भोलिपल्ट बिहानपख उनलाई सडकमार्ग हुँदै पोखरा ल्याइपुर्याइएको हो ।
कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकोमा पछिल्लो पटक १० दिन थपिएको हो ।