कार्तिक २१, काठमाण्डौँ । भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ ।
टिकटकले आवश्यक कागजात पेस गरेसँगै हालै विधिवत रूपमा दर्ता गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक दर्ता भएको मन्त्रालयले जनाएको छ ।
यसअघि अश्लीलता फैलाएको भन्दै २०८० कात्तिक २७ मा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो । तर, गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो । यससँगै आधिकारिक रूपमा दर्ता गरेर सञ्चालन गर्नको लागि सहमति जनाउँदै टिकटकले आवश्यक प्रक्रिया पुरा गरेको हो ।
आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व पनि संकलन गर्ने बाटो खुला भएको छ । अब सरकारले टिकटकमा आपत्तिजनक कन्टेन्ट केही आएमा तत्काल नै पत्राचार गरेर हटाउन निर्देशन दिन सक्नेछ । हाललाई टिकटकको सिंगापुरस्थित कार्यालयले नेपाल हेर्ने बताइएको छ ।