काठमाडौँ, असोज १९ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताउनुभएको छ।
फास्ट फुड एसोसिएसन नेपालले शनिबार आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उहाँले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताउनुभयो।
“देशका विभिन्न स्थानमा एकैपटक बाढीपहिरोबाट मानवीय क्षति भयो, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन्। यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ,” मन्त्री गुरुङले भन्नुभयो । उहाँले दसैँ तिहारमा यातायात सेवा सहज ढङ्गले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको तथा सडक विभागसँगको समन्वयमा अवरोध भएका स्थानमा युद्धस्तरमा काम भइरहेको बताउनुभयो।
नेपाली जनताले तत्काल परिणाम खोजेका तर नीतिगत सुधार गरी त्यसलाई कार्यान्वयनमा लैजान केही समय लाग्ने भएकाले तत्काल परिणामको अपेक्षा गर्नु स्वाभाविक नहुने तर्क गर्नुभयो। जनताले महसुस गर्नेगरी परिणाम निकाल्न सरकार क्रियाशील रहेको उहाँको कथन थियो।
एसियाली खेलकुदमा पदक विजेता एरिका गुरुङ, सेफ गोविन्दनरसिंह केसीलगायत उच्च शिक्षा हासिल गरेका ‘फास्ट फुड’ व्यवसायीका सन्तति, लायन्स क्लबलगायत सामाजिक सङ्घसंस्थालाई सम्मान गरिएको एसोसिएसनका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो। रासस