आफ्नो वरपर भ्ररष्टाचारीहरू राखेर बनेको सरकार धेरै दिन टिक्दैन: वर्षमान पुन

1.9k Shares

लिबाङ, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ’ भन्दै हिँडेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी रोल्पाको २३ औं जिल्ला सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिनँ भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको बताए ।

‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भ्रष्टाचारीको मुख हेर्दिनँ भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई राखेर यसो भनेको सुन्दा मानिसहरू हाँस्ने गर्छन् ।

‘भ्रष्ट आचरणका कारण जनताबीच डुङ्डुङ् गन्हाएका पुराना पार्टी कांग्रेस–एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौँ ।

पुनले माओवादी सशस्त्र जनयुद्ध, ०६२–०६३ को संयुक्त आन्दोलन, शान्तिप्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा कांग्रेस–एमालेलाई रूपान्तरण गरियो होला भन्ने आफूहरूको अनुमान पछिल्ला घटनाक्रमहरूले गलत साबित भएको तर्क गरे ।

हामीलाई लागेको थियो उनीहरु यहाँसम्म आउँदा केही सुध्रिए होला । तर उनीहरु भ्रष्टाचार, बेथिती र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन् । हामी उनीहरूलाई पुरानै ठाउँमा फर्कन दिँदैनौँ । खबरदारी गर्छौँ’, पुनले भने ।

उनले भुटानी शरणार्थी र गिरीबन्धु टी-स्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्याशित रुपमा कांग्रेस–एमालेबीच गठबन्धन भएको उल्लेख गरे ।

फरक प्रसंगमा प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा अर्थमन्त्री रहेका पुनले आफूहरु सरकारबाहिर आउनुपर्दा नआत्तिएको बताए । तर, काँग्रेसकै वरिष्ठ नेताहरुले सरकार सय दिन मात्र टिक्ने बताउन थालेको उनको दाबी छ ।

सम्बन्धित समाचार