भाद्र १, काठमाण्डौं । संघीय सरकारका उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगमा बिजुलीको लाइन काट्नु भनेको 'घाँटी काट्नु सरह भएको बताएका छन् ।
शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था हुँदाहुँदै विद्युत प्राधिकरण अन्तिम निर्णयमा पुगेर लाइन काटेको आरोप लगाए ।
उनले भने 'कसैले विद्युत प्रयोग गरेबापत पैसा तिर्नुपर्छ। त्यसको मूल्य निर्धारण भएको छ । तर तिर्नुपर्ने भनिएको कुरा न्यायोचित छ कि छैन यसमा राज्यले ध्यान दिन जरूरी छ ।
प्राधिकरणले अन्य काम गर्दा पनि तालमेल मिलाएर गर्न नसकेको उनले बताए । तालमेल मिलाएर काम गर्न नसक्दा बनिसकेका आयोजनाको बिजुली खेर गइरहेको उनको भनाइ छ ।