१ भदौं, भक्तपुर । गृहमन्त्री रमेश लेखकको निर्देशनपछि भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ । भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्व ४ सदस्यीय छानबिन समिति बनेको हो ।
निरौला नेतृत्वको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल इन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकातर्फबाट तुलसी हरि कोइराला सदस्य रहेका छन् ।
दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ ।
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियो ।