२८ श्रावन काठमाण्डौं । नेपाल प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि हटाउन सरकारले गठन गरेको कार्यदलले सुझाब दिएको छ । ३० वर्षे सेवा अवधि हटाएर एआईजीको पदावधि ४ वर्ष राख्नुपर्ने सुझाव दिएको छ । आचार्य कार्यदलले गृहमन्त्री रमेश लेखकलाई साउन १७ मा प्रतिवेदन बुझाएको थियो ।
हाल लागु भैरहेकोको ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा जान लागेका प्रहरी कर्मचारीको सेवा अवधि पहिलोपटक ६ महिनाको दरले बढाउन प्रस्ताव गरिएको कार्यदलका एक जना सदस्यले बताए । ती सदस्यले भने, ‘प्रत्येक आर्थिक वर्षमा ६ महिनाको दरले बढाउँदै लाँदा उपयुक्त हुने हाम्रो निष्कर्ष छ ।’
नेपाल प्रहरी महानिरीक्षकको पदावधि ३ वर्ष, एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष, एसएसपीको ८ वर्ष र एसपीको हकमा १० वर्ष राख्नुपर्ने प्रस्ताव छ ।
अवकाशमा जाने उमेर हद आईजीपीको ६०, एआईजी र डीआईजीको ५९ वर्ष, एसएसपीको ५८ वर्ष, एसपी र डीएसपीको ५७ वर्ष बनाउन प्रस्ताव गरिएको छ । कार्यदलले प्रहरी र सशस्त्रमा समान पदावधि बनाउन सुझाव दिएको छ ।
कार्यदलमा गृह मन्त्रालयका उपसचिव कृष्ण गैरे, सशस्त्रका डीआईजी दीपेन्द्र शाह, प्रहरीका डीआईजी राजन अधिकारी, विज्ञ पूर्व डीआईजी पुरुषोत्तम कँडेल र गृह मन्त्रालयको कानुन महाशाखाका उप सचिव ऋषि पौडेल सदस्य थिए ।