काठमाण्डौँ । लामो समयपछि समाजवादी मोर्चाको बैठक केही दिनमा बस्ने भएको छ । प्रचण्ड नेतृत्वको सरकार असार २८ गते ढलेपछि साउन १ गते पहिलोपटक मोर्चाको बैठक आज बसेको थियो ।
एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरी अगामी योजना तयार गर्न कार्यदललाई १५ दिनको समय दिएको थियो । तर एक महिना पुग्न लाग्दासमेत कार्यदलले प्रतिवेदन बुझाएकाे छैन । नेपाल समाजवादी पार्टी महिन्द्रराय यादव समूहका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ आइतबार काठमाडौँ आउँदैछन् । श्रेष्ठका अनुसार प्रतिवेदन करिब तयार भए पनि अन्तिम रूप दिन बाँकी रहेको छ । काठमाडौँ आएपछि मङ्गलवारसम्म प्रतिवेदन बुझाउने तयारी भएको उनले जानकारी दिए ।
‘करिब करिब प्रतिवेदन तयार भएको छ । मोर्चाका अन्य घटकसँग थप छलफल गरेपछि अन्तिम रूप दिइन्छ । सोमबार वा मङ्गलवारसम्म प्रतिवेदन बुझाउँछौँ होला’, श्रेष्ठले भने । यता मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पश्चिम नेपालको कार्यक्रम सकेर आइतबार नै राजधानी आउँदैछन् ।
मोर्चाबाट उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल बाहिरिएपछि नेसपा यादव समूह भित्रिएको हो । कार्यदलमा ने.स.पा. बाट श्रेष्ठसहित माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र ने.क.पा. बाट खड्गबहादुर विश्वकर्मा रहेका छन् ।
मोर्चा सम्वद्ध सबै दलसँग सल्लाह गरेर केही दिनमै बैठक बस्ने समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लव सी को सचिवालयले जनाएको छ । कांग्रेस–एमाले गठबन्धनले संविधान संशोधनसहितको सहमति गरेपछि झस्किएका मोर्चा आबद्ध दलहरूले सरकारविरुद्ध सदन र सडकबाट सशक्त प्रतिकार गर्ने गरी कार्यक्रम बनाउन लागेको छ ।