बंगलादेशमा अन्तरिम सरकार गठन, विद्यार्थी नेता पनि मन्त्रिपरिषदमा

2k Shares

काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

जसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद पनि छन् । उनको मन्त्रिपरिषद्‍मा पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेन पनि छन् ।

सरकारी रोजगारीमा रहेको कोटाविरुद्ध विद्यार्थीहरुले थालेको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले २१ गते राजीनामा दिएर देश छोडकी थिइन् । लगतै सेना प्रमुखले पत्रकार सम्मेलन गरेर अन्तरिम सरकार बनाउने बताए ।

विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने बताउँदै युनुसको नाम अगाडि सारे । संसद भंग गर्न माग गरे ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सर्वपक्षीय छलफल गरेर विद्यार्थीहरुको मागअनुसार संसद भंग गर्नुका साथै नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए । 

 

सम्बन्धित समाचार