काठमाडाैं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिदै भारतमा निर्वासित भएकी छन् ।
बंगलादेशमा हिंसात्मक प्रदर्शनपछि ३ सय बढिको ज्यान गएको छ भने प्रदर्शन चर्किदै गएपछि हसिनाले पदबाट राजीनामा दिदै भारत भागेकी हुन् ।
विपक्षी दल र विद्यार्थीहरुले प्रदर्शनको क्रममा प्रधानमन्त्री कार्यालय प्रवेश गर्न थालेपछि जनताका नाममा सम्बोधन नै गर्न नपोाई हसिना बहिनीसहित भारत पुगेकी हुन् ।
भारतमा हसिनालाई हवाई सेनाले स्वागत गरेको बताइएको छ भने हसिनाको राजीनामासँगै बंगलादेशको शासन सत्ता सेनाले हातमा लिएको छ । सेनाले सत्ता हातमा लिएसँगै आन्दोलन रोक्न र प्रदर्शनमा मारिएकाबारे अनुसन्धान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
बंगलादेशमा सेनाले शासन सत्ता हातमा लिएपछि अन्तरिम सरकार गठन गर्ने दाबी गरेको छ भने देशलाई संकटबाट बाहिर निकाल्ने समेत भनेको छ । तर, भारत निर्वासित भएकी हसिना केहिदिन भारतमा बसेर बेलायत जाने खवरहरु सार्वजनिक भएका छन् ।