काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीहरु सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन् ।
सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले गरेको उनको भनाइ थियो।
‘अहिलेको कम्युनिष्ट साथीहरु नरिसाउनु होला । अहिलेका कम्युनिष्ट पार्टीका नेताहरुको हेर्छु म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ । र त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिदैन । त्यो युग अहिले आएको छ । कुनैपनि काम बाँकि नछोडने । राजावादीसँग पनि एकता गर्ने, गरेकै होए, उपेन्द्रले भने ।
पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिष्टहरु राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए ।
कम्युनिष्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिष्ट पार्टीहरुमा अवसरवाद मात्रै बाँकि रहेको उनको भनाई थियो । अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिष्ट पार्टीहरुले भने मुलुकमा दुःख पाउनुपरेको पनि बताए ।
आजको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका वामपन्थी नेताहरु उपस्थित थिए ।