उत्तरी छिमेकी मुलुक चीनले नेपालको भूभाग मिचेको कुरा खासै चर्चाको विषय बन्दैन । आफ्नो समृद्ध सांस्कृतिक सम्पदा र गज्जबको प्राकृतिक सौन्दर्यको लागि प्रख्यात राष्ट्र नेपालले केही समय यता आफ्नो एक छिमेकी देश संग सिमा विवादमा अल्झिएको छ । तर,यो अतिक्रमणले भोलीको दिन नेपालको लागि ठूलो चुनौतीको रुप साबित हुन सक्ने विश्लेषण हुँदै छ । चीनले नेपाली भूभाग मिचेको विषयमा किन मौन बसेको भन्ने शंकाको विषय भएको जानकारहरु बताउँछन् ।
नेपाल–चीन सीमा सम्झौता सन् १९६० मा भएको थियो भने सन् १९६१ मा नेपाल–चीन सीमा सन्धि नै भएको थियो । सन्धिमा नेपालको तर्फबाट तत्कालीन राजा महेन्द्र शाह र चीनको तर्फबाट तत्कालीन राष्ट्रपति ली साउ चीले हस्ताक्षर गरेका थिए ।
यस लेखमा हामी नेपाल र चीनबीचको विवादित सीमा विवादको गहिरो विश्लेषण, तथ्य र विवरण सहित वास्तविकता केलाउने प्रयास गर्दै छौँ ।
सन् १९६१–६२ मा दुवै देशबीच सीमाङ्कन भएको थियो । सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुुसार त्यतिबेला सीमाङ्कन हुँदा ३२ ठाउँमा विवाद भएको थियो । सगरमाथा र गौरी हिमाल चीनले नै दाबी गरिरहेको थियो ।
विज्ञ श्रेष्ठ भन्छन्– ‘ नेपाली टोलीका अज्ञानताका कारण र अध्ययनको कमिका कारण सङ्खुवासभा जिल्ला किमाथाङ्काका दुई गाउँ च्याङ्गा र लुङदेप तथा हुम्ला, डोल्पा, दोलखाका चरनक्षेत्र चीनले नै लिएर गयो । जो आजसम्म फिर्ता ल्याएको छैन ।’ त्यस्तै, दोलखा लामाबगर उत्तरको लाप्ची गाउँको उत्तरतिरको भाग कोरलाङ पारिको कित्ता (६ हेक्टर अर्थात ९९ रोपनी) विवादमा रहेको तर त्यसको पनि सामाधान हालसम्म नभएको र त्यसबाहेक अरू ठाउँमा विवाद रहेको बारेमा आफ्नो जानकारीमा नरहेको उनले बताए ।
अहिलेसम्म उपलब्ध विवरणले निम्न क्षेत्रहरू मा चीनले कब्जा गरेको तथ्य बाहिरिएको छ ।
१)हुम्ला जिल्लाको फुराङको भाँगदारे खोलको ६ हेक्टर
२)हुम्लाकै फुराङको कर्णाली नदीबाट ४ हेक्टर
३) रसुवाको केरुङस्थित सत्जेन खोला २ हेक्टर
४)केरुङको भार्जुग खोलामा १ हेक्टर
५) रसुवाको जबमु खोलामा ३ हेक्टर
६) सिन्धुपाल्चोकको भोटेकोसी
७) खराने खोलामा ७ हेक्टर, सङ्खुवासभाको सुमजुङ्ग खोला, काम खोला, अरुण नदीको नौ हेक्टर जमिन चीनले मिचेको दाबी गरिएको छ ।
नेपाल–चीनको सीमा नजिक रहेको नेपाली भूमिमा चीनले आफ्नो दबाब कायम गर्न खोजेको छ । चीनले नेपाली भुमीमा तीन कोठे पक्की भवन बनाएको पाइएको छ । चिनियाँ सरकारले हुम्लाको उत्तरी लिमी गाविसमा रहेको लाप्चामा दुई हजार मिटर नेपाली भूमि मिचेर आफ्नो सुरक्षा पोष्ट बनाएको खुलेको छ ।
हुम्लाको किटमा रहेको नेपाली भूभागबाट ढुङ्गा लगेर तटबन्ध निर्माण गरेको, कैलाश र मानसरोवरको दर्शन गर्ने नेपाली भूमि समेत चीनले आफ्नो बनाएको अध्ययनबाट देखिएकाले नेपाली भूमि मिचेको प्रमाणीकरण भएको नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् तत्कालीन कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीसहितको टोलीले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । लिमी उपत्यकासहित हिल्सामा समेत चिनियाँ समय देखिने बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हुम्लासँगको चिनियाँ सीमावर्ती क्षेत्रमा १० मुख्य र ५ सहायक गरी १५ सीमास्तम्भ छन्। जिल्ला प्रशासन कार्यालय हुम्लाको अभिलेख अनुसार ३, ४, ५, ६ (१), ७ (१), ८ (१), ९(१), १०, ११ र १२ नम्बरका मुख्य पिलर छन् भने ५ (२), ६(२) ७ (२), ८ (२) र ९ (२) नम्बरका सहायक पिलर छन्।
हुम्लाको ११ नम्बर पिलर समेत हराएको लिमी बासिन्दाको भनाई छ । त्यहाँ अनुगमनमा गएको टोलिले सिमाना अवलोकन गर्दा उक्त नेपाली भुमिमा पक्की घर बनाएको भेटिएको छ ।
पिलर नम्बर ५ देखि १२ नम्बरसम्म विभिन्न समयमा गरिएको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा चीनले नेपाली भूभाग मिचेको ठहर भएको छ ।
शाहीले गरेको उक्त अध्ययन प्रतिवेदन अनुसार चीनले निर्माण गरेका भौतिक संरचनाहरू नेपाली भूमिमै छन् । प्रतिवेदनमा भनिएको छ, ‘चीन सरकारले लोलुङजोङमा निर्माण गरेका भौतिक संरचनाहरू नेपाली भूभागभित्र रहेको र यस आधारमा नेपाली भूभाग चीनले अतिक्रमण गरेको छ ।’
सोही प्रतिवेदनमा नेपालतर्फको किट भन्ने स्थानमा रहेका सीमा स्तम्भहरू ५(१), ५(२) लाई तारबार गरी आफ्नो क्षेत्रमा राखेको पाइएको समेत उल्लेख गरिएको छ । त्यस्तै, पुरानो ५(२) नम्बरको जङ्गे स्तम्भ उखेलेर हाल एकलौटी रूपमा नयाँ बनाएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गप्पुदोचामा रहेको पानीढलोलाई आधार मान्दै नेपाल र चीन सरकारले सन् १९८२ मा पारित गरेको नक्सामा रहेको नेपाली भूभाग अहिले चीनले मिचेको देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अहिले चीनले निर्माण गरेको भौतिक संरचनाभन्दा उत्तरमा रहेको ग्यापुदोसामा चिनियाँ उच्च अधिकारीले समेत नेपालको भूमि भनेर स्वीकार गरेर बाटो निर्माण भएकोमा अहिले चीनले कब्जा गरेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।
त्यस्तै नेपाली युवा समूहको सीमा संरक्षण सङ्घर्ष समितिके निकालेको प्रतिवेदनले गप्पुदोचादेखि नेपालले निर्माण गरेको झण्डै २ किमि सडक खण्ड चीनले अतिक्रमण गरेको,लाप्चा भञ्ज्याङमा निर्माण गरिएको १२ नम्बर स्तम्भको एलाइन्मेन्ट पूरै परिवर्तन गरेको ,लिमीको टाकुल्ले चुचुरोमा रहेको ११ र १० नम्बर स्तम्भको अवस्था अध्ययन गर्दा उक्त स्थानमा त्यहाँ अतिक्रमण गरेको देखिएको जस्ता निष्कर्ष समेत निकालेको छ ।
गप्पुदोचा र लोलुङजोङ क्षेत्र नेपालीहरूले चरिचरनका लागि प्रयोग गरेको ऐतिहासिक तथ्य समेतले चीनले नेपाली भूमि मिचेको प्रमाण रहेको निष्कर्ष निकालिएको छ ।
त्यस्तै चीनले आफ्नो दशगजा नियम विपरीत हिल्सामा रहेको ९(२) सीमा स्तम्भको बीच रेखामा तारबार तथा गेट निर्माण गरेको छ जब कि नेपालले सीमास्तम्भभन्दा ३० मिटर टाढा आफ्नो गेट निर्माण गरेर नियम अनुसार चलेको छ ।
नयाँ निर्माण गरिएका सीमा स्तम्भहरू र पुरानो सीमा स्तम्भहरूको बनावट तथा अक्षरका लिपिहरू समेत फरक–फरक रहेको सोही प्रतिवेदनले दाबी गरेको छ ।
ती अध्ययन टोलीको प्रतिवेदनमा १२ नम्बर पिलर नयाँ बनाउनु, सीमा स्तम्भहरूमा फरक–फरक लिपि प्रयोग हुनु र स्थानीय बुढापाकाले नेपालको भूमि भनेका स्थानमा अहिले चीनले अतिक्रमण गरेको देखिनुलाई प्रमाणका रूपमा पेश गरिएको छ ।
यसबाहेक, अतिक्रमणले क्षेत्रलाई अस्थिर बनाउने, विद्यमान तनावलाई बढाउँदै र द्वन्द्वको सम्भाव्यताको बारेमा चिन्ता बढाउन सक्ने विज्ञहरुको भनाइ छ ।
नेपाल र चीनबीचको सीमा विवादले नेपालको इतिहासमा एउटा निर्णायक क्षणलाई प्रतिनिधित्व गर्दछ, जसले बढ्दो अन्तरसम्बन्धित विश्वमा सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको महत्त्वलाई जोड दिन्छ। नेपालले अतिक्रमण संकटको सामना गरिरहेको बेला, यसले आफ्नो समृद्ध सांस्कृतिक सम्पदा र लचिलो भावनालाई अगाडि बढाउनको लागि अगाडि बढ्नु पर्छ। कूटनीतिक संलग्नता, अन्तर्राष्ट्रिय सहयोग र अटल संकल्पका माध्यमबाट नेपालले आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न र आगामी पुस्ताका लागि आफ्नो भविष्यको रक्षा गर्न सक्छ।
यद्यपि, नेपालले चीनसँगको सम्बन्धको जटिलतालाई नेभिगेट गर्दै र आफ्नो सार्वभौमसत्ताप्रतिको प्रतिबद्धतासँग आफ्नो रणनीतिक हितलाई सन्तुलनमा राख्न खोज्दा चुनौतीहरू बढी रहेका छन्।