सर्लाहीको लालबन्दी नगरपालिका १५ स्थित देउरालीमा रहेको रहेको सिद्धेश्वर प्राथमिक विद्यालयको स्थापना २०४८ सालमा भएको हो ।लालबन्दी नगरपालिकाको दुर्गम भनेर चिनिने देउरालीमा विद्यालय स्थापना भएपछि गाउँ मै छोराछोरी पढाउन पाईने भएपछि स्थानीयमा निकै खुसी थपिएको थियो । तर ३३ वर्षपछि सम्म आई पुग्दा पनि विद्यालयको भौतिक,व्यवस्थापकिय र शैक्षिक अवस्थामा सुधार नआउँदा अहिले विद्यार्थी संख्या दिनप्रतिदिन घट्दै गएका छन् ।
“विद्यालय स्थापना भएको ३३ वर्षपछि पनि कक्षा ५ सम्म मात्रै पढाई हुने गरेको भएपनि आवश्यक संख्यामा शिक्षक छैनन्,एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नु परेको छ भने विद्यार्थीहरु भुइँमा बसेर खुल्ला आकाश हेर्दे पढ्न बाध्य छन् ।”“के हामी जस्तो दुर्गममा बस्ने गरिबका बच्चालाई राम्रो शिक्षा पाउने अधिकार छैन ?’ शिक्षक–अभिभावककै अघिल्तिर कक्षा ५ मा पढ्ने रविन तामाङले तिखो स्वरमा आफ्ना गुनासा पोख्दै गर्दा विद्यालयका शिक्षक र विद्यार्थीहरु मौन देखिन्छन् ।
“लालबन्दी नगरपालिका १५ कै माध्यामिक विद्यालय तीनघरे आउन जान टाढा भएका कारण सो क्षेत्रका विद्यार्थीहरुलाई सिद्धेश्वर प्रा.विको विकल्प छैन ।पाँच कक्षासम्म पढाइ हुने प्रा.वि देउरालीमा जस्ताले छाएका पुराना दुईवटा भवनका भित्ता चिराचिरा भएका छन् ।एउटा शौचालय भए पनि पानीको व्यवस्था छैन ।कम्पाउण्डवाल नभएकाले पशु चौपायहरु विद्यालयको प्राङ्गण मै आउछन् ।न खेल मैदान छ ।कक्षाकोठामा डेक्सबेन्च नभएकाले धुलाम्मे भुइँमा बसेर पढ्नु पर्छ ।बालविकास देखि कक्षा पाँच सम्म ६ वटा कक्षा कोठा आवश्यक भएपनि कक्षा ४ र ५ का विद्यार्थीहरुलाई एउटै कोठामा राखेर पढाउनु परेको छ ।”विद्यालयका प्रधानाध्यापक बलराम कार्कीले गुनासो गरे ।
उनका अनुसार दरबन्दीका शिक्षक दुई जना,वडा कार्यालयको अनुदानबाट दुई जना शिक्षक र विद्यालय सहयोगी र बालविकास शिक्षिक गरी छ जना भएपनि विद्यार्थी संख्या भने ६० जना मात्रै रहेका छन् । नयाँ भवन निर्माण भएको भएपनि प्लाष्टर गर्न नसक्दा ईट्टा झन थालेको,झ्याल ढोका फुक्लि सकेका र छानो हावाले उडाई सकेको छ ।पटक पटक अभिभावकहरुसंग अन्र्तक्रिया गरी विद्यालयको भौतिक,शैक्षिक र व्यावस्थापकिय क्षेत्रको सुधार गर्दै विद्यार्थी संख्या बढाउनु पहल भएपनि कुनै पनि अभिाभावकहरुले चासो नदेखाएका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कृष्णराज ठोकरले बताए ।
“२०४८ सालमा स्थापना भएको विद्यालयको भौतिक अवस्था अत्यन्तै दयनिय,शैक्षिक अवस्था अत्यन्तै नाजुक रहेको साथै दिनप्रतिदिन विद्यार्थी संख्या घटिरहेको अवस्थामा सामुदायिक विद्यालयको शैक्षिक,भौतिक र व्यावस्थापकिय रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्दै पटक पटक खुल्ला छलफल गरिएको भएपनि अति गरिब समुदाय रहेका कारण आफ्ना छोराछोरीलाई पढाउन भन्दा काम मै लगाउने गरेका कारण करिब एक सय ५० अभिभावक रहेको विद्यालयमा ६० जना मात्रै विद्यार्थीहरु हुनुले प्रष्ट हुन्छ।”अध्यक्ष ठोकरले बताए ।
शिक्षक अभाव त पुरानै कुरा भइहाल्यो।विद्यालयको भवन पनि जिर्ण भईसकेको छ । कलिला नानीबाबुहरु चिसो भुइँमा पलेटी कसेर बसेर पढ्न बाध्य छन् भने शैक्षिक सामाग्रीको समेत अभाव रहेको छ ।दुर्गमको गरिब विद्यालय भएकाले कुनै सुविधा नहुँदा कुनै विद्यार्थीहरु विद्यालय आउन मान्दैनन् ।दक्ष शिक्षक र अन्य पूर्वाधार अभाव रहेको शैक्षिक संस्थाबाट सक्षम शैक्षिक जनशक्ति उत्पादन सम्भव हुन सक्दैन साथै शिक्षक र अन्य आधारभूत पूर्वाधार नै पु¥याउन नसकेको ठाउँबाट शैक्षिक गुणस्तरको कुरा गर्नु व्यर्थ हुने स्थानीय समाजसेवी कृष्ण दाहालले बताए ।उनका अनुसार अलिकति आर्थिक पहुँच भएका अभिभावकहरुले आफ्ना नानीबाबुहरुलाई अन्यनत्रै लगेर नीजि तथा सुविधा सम्पन्न सामुदायिक विद्यालयहरुमा पढाउने गरेका छन् ।
“गुणस्तरीय शिक्षाको कुरा गर्नु व्यर्थ हो,’ प्रअ कार्कीले बताए ।,“विद्यालय छ भन्नु मात्र न हो ।यत्ति चलाउन पनि आर्थिक व्यवस्थापनमा कुनै कठिनाइ नभएर नियमित भइदिए हुन्थ्यो भन्ने पो लाग्छ,विद्यालयको आन्तरीक कुनै स्रोत छ्रैन।’भौगोलिक र विद्यार्थी संख्याका आधारमा विद्यालय संख्या वृद्धि भए पनि गित लामो समयदेखि शिक्षक दरबन्दी थप नहुँदा सिद्धेश्वर प्रा.वि विद्यार्थी विहिन हुने अवस्थामा पुगेको स्थानीय जानकार गोविन्द अधिकारीले बताए ।उनका अनुसार हालको व्यवस्था अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकेको मापदण्ड अनुसार दरबन्दी मिलानको अधिकार र दायित्व स्थानीय तहलाई छ।शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक नभएका विद्यालयहरुमा दरबन्दी वा अनुदान कोटा दिने व्यवस्था रहेको भएपनि सिद्धेश्वर प्रा.वि शिक्षा विकास तथा समन्वय ईकाईको पनि नजरमा परेको छैन् ।स्थानीय तहको सीमित आर्थिक स्रोतमा पनि बाटोघाटो,सडक,खानेपानी,सिँचाइलगायतका पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने बाध्यताले शैक्षिक सुधारमा आवश्यकता अनुसार बजेट अपुग हुने गरेको स्थानीय जानकारहरुको बुझाई छ ।
“एकातिर देशमा बेरोजगारीको जर्जर अवस्थामा छ ।अर्कोतिर जिल्लाका दुर्गमका विद्यालयहरु शिक्षक तथा विद्यार्थी नपाएर समस्यामा छन् ।विद्यालयको आन्तरीक आयस्रोत छैन्,वडाको अनुदानमा न्यून पारिश्रमिक हुने भएकाले पनि गुणस्तरिया शिक्षकहरु नआउने गरेका कारण दूरदराजमा बाहिरबाट दक्ष जनशक्ति आउन मान्दैनन् ।”विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ठोकरले बताउनु भयो ।सो विद्यालयको विषयमा लालबन्दी नगर शिक्षा शाखा पनि वेखर छ ।