सर्लाहीको हरिपुर्वा नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्माचारीहरु लामो समयदेखि तलब नपाएको भन्दै विद्यालय बन्द गरेर धर्नामा बसेका छन् ।चालु आर्थिक वर्षको साउन देखि नै तलब नपाएको भन्दै नगर भित्रका सबै १६ वटै सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालयका कर्माचारीहरु विद्यालयका सबै काम बन्द गरेर नगरपालिकामा धर्नामा बसेका हुन ।
नगर भित्रका सबै सामुदायिक विद्यालयहरुको काम बन्द गरेर नगरपालिका कार्यालयमा दैनिक तीन घण्टा धर्ना दिएको हरिपुर्वा नगरपालिका ५ स्थित रहेको गरिब केशर जनता माविका प्रधानाध्यापक संजय कुमार यादवले बताए । सबै भन्दा ठुलो पर्व दशैँ,तिहार र छठमा समेत शिक्षक तथा कर्माचारीहरुले तलब खान नपाएपछि पटक पटक नगरपालिकालाई लिखित र मौखिक आग्रह गर्दापनि वेवास्था गरेका कारण आफुहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य भएको प्रधानाध्यापक यादवले बताए ।
आन्दोलनका कार्यक्रम अन्र्तगत पहिलो चरणमा गरिएको शान्तीपुर्ण आन्दोलनबाट आफुहरुको माग सात दिन भित्र पुरा नभए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने आन्दोलनरत शिक्षकहरुले चेतावनी समेत दिएका छन् ।“अहिले पहिलो चरणमा हामीले दैनिक तीन घण्टा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म धर्ना दिएका छौं ।हाम्रो माग पूरा नभए थप विरोधका कार्यक्रम सार्वजिनक गर्छौं ।”आन्दोलनरत शिक्षकहरुको भनाई छ ।
आफुहरुको काम गरेको पारिश्रमिक तलब पाउनु पर्यो भन्ने सामान्य माग छ ।हाम्रो माग पुरा भए आफुहरु नियमित काममा फर्किने धर्नामा बसेका शिक्षक रमेश कुमार यादवले बताउनु भयो । उहाँले आफुहरुको माग पूरा नभए आन्दोलनका अन्य कार्यक्रम तय गरिने समेत बताए ।“हामीले तलब पाउनकै लागि गत वर्ष पनि यसरी आन्दोलन गर्नुपरेको थियो ।अहिले पनि अवस्था यस्तै छ ।” उनले गुनासो गरे ।
तलब नपाउँदा घर व्यवहार चलाउन नै मुस्किल भएको राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक राजीव महतोले बताउनु भयो ।“अब त ऐंचो पैचो र उधारो पनि पाउन मुस्किल भईसक्यो । पसल बालाले उधारो पैसा मागेर हैरान गरिसके ।”उनको गुनासो छ ।चाडवाड अगाडि नै आफूहरुले तलब पाउनु पर्ने माग राख्दै असोज १७ गते नै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको भएपनि तलब नपाएको राष्ट्रिय आधाभूत विद्यालयका प्रधानाध्यापक हरिनारायण कुशवाहाले बताउनु भयो ।उहाँले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नआएको र नगरसभा भई नसकेको कारण आफूहरुले तलब नपाएको जानकारी आफूले पाएको समेत बताए।
यता,शिक्षकहरुले तलब खान पाउनु पर्छ भन्ने माग राख्नु जाहेज रहेको भएपनि विद्यालय बन्द गरेर आन्दोलन गर्नु अलि सुहाउँदो नभएको हरिपुर्वा नगर शिक्षा शाखाका संयोजक जनक काफ्लेले बताए । उनले आफुले पनि नगरपालिकामा पटक पटक शिक्षक तथा कर्माचारीहरुको तलब खुवाउन आग्रह गरेको भएपनि असफल भएको बताए ।त्यस्तै,शिक्षक तथा कर्मचारीहरुले समयमै तलब पाउने स्थिति बन्न नसक्दा आफू निकै दुखित भएको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साहले बताए। उनका अनुसार जेष्ठ नागरीक,अपाङ्गता भएका व्यक्ति,एकल महिला र बालबालिकाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण अहिलेसम्म नगरसभा नभएको र नगरसभा गर्न नसकेकै कारण यावत समस्या आएको नगर प्रमुख साहले बताए ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउनै नसकेको नगर प्रमुख साहको आरोप छ ।उनले संघीय खानेपानी मन्त्री महेन्द्र राय यादवकै कारण हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने फर्किने गरेको र समस्या सिर्जना भएको समेत बताए ।यता,खानेपानी मन्त्री यादवले स्थानीय स्तरमा बसेर समस्याको समाधान गर्नुको सट्टा नगर प्रमुख साहले विभिन्न वाहना बाजी गरि आफैँले विवाद सृजना गर्दा प्रमुख प्रशासकीय अधिकृत आउन नमानेका समेत बताउनु भयो ।उहाँले आफु संघिय सरकारको मन्त्री भउकाले स्थानीय तहमा राजनिति नगरेको समेत बताए ।हरिपुर्वा नगरपालिकामा जनप्रतिनिधिहरु विचको विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नबस्दा चालु आर्थिक वर्षको नगर सभा समेत हुन सकेको छैन् ।जसका कारण नगरको आर्थिक तथा विकास निर्माणका सबै कामहरु प्रभावित भएका छन् ।