दुर्गा कुमारी अधिकारी
नेपालको संविधानले मौलिक हकको रुपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच तथा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्थालाई उच्च प्राथमिकता राखेको संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवले बताए ।उनले मौलिक हकको व्यवस्था र खानेपानीको शुद्धताको सवालमा कसैसंग कुनै प्रकारको सम्झौता नगरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
खानेपानी मन्त्री यादवले दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी तथा सरसफाइको क्षेत्रलाई विषेश प्राथमिकता राखेर नेपाली जनतालाई सुरक्षित खानेपानी र सरसफाइको पहुँचमा ल्याउन आफु लागिपरेको बताए । उनले उत्पीडन र विभेदमा परेका समुदायको न्याय,अधिकार,विकास तथा स्वाभिमानको लागि हिमाल,पहाड र मधेसलाई जोड्ने पार्टी नेपाल समाजवादी पार्टी(नेसपा) रहेको समेत बताए ।
संविधान,लोकतन्त्र,पहिचान र अधिकारको रक्षा,समानुपातिक,समावेशी प्रतिनिधित्व र संविधान संशोधनका निम्ति नेपाल समाजवादी पार्टी(नेसपा)ले राज्यसंगको लडाइ जारी राखेको मन्त्री यादवले बताए । सत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटिहरु सच्याउने देखि देश,जनता र लोकतन्त्रको पनि रक्षा गर्ने उनको भनाई छ ।
२०८० बैशाख २४ गते नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम कार्यभार फेरिएर खानेपानी मन्त्री बनेका मन्त्री यादव सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाल समाजवादी पार्टी(नेसपा)का राष्ट्रिय अध्यक्ष समेत हुन् । खानेपानी मन्त्री भएपछि बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पहिलो पटक सर्लाही आएमन मन्त्री यादवलाई क्षेत्रबासी नागरिकहरुले भव्य स्वागत गरेका छन् । मन्त्री यादवले पर्सा गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम नेकपा(एमाले)का नेता किशुनदेव यादवलगायत सयौँ जनालाई नेपाल समाजवादी पार्टी(नेसपा) स्वागत गरेका हुन ।