‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार बस्नेतलाई

3.4k Shares

यस वर्षको ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार सूर्यचन्द्र बस्नेतलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुर शाखाका अध्यक्ष वीरेन्द्र पराजुलीले कार्यकारी सम्पादक बस्नेतलाईसो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए ।पुरस्कारको राशि रू.२५ हजार रहेको छ ।
बस्नेत राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक एवम् प्रदेश तथा जिल्ला ब्यूरो प्रमुख हुन् । त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक तथा पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका बस्नेत यसअघि राससको प्रमुख समाचारदाता र राससको वोर्ड सदस्य भएर करिब साढे दुई दशकदेखि राससमा आवद्ध रहेका छन् ।
नेपाल प्रेस इन्स्टिच्यूटबाट दश महिने पत्रकारिता तालिम लिएका उनको विभिन्न कलेजमा अध्यापनमा अनुभव छ । हाल सेफर्ड कलेज बानेश्वर काठमाडौमा पत्रकारिता विषय पढाउँछन् । उनी पूर्वाञ्चल विश्वविद्यालय कला संकाय अन्तर्गत आमसञ्चार तथा पत्रकारिता विषयगत समितिको सदस्य समेत हुन् ।
राष्ट्रपुकार साप्ताहिकको तनहुँ संवाददाताका रुपमा झण्डै तीन दशक अघि पत्रकारिता सुरु गरेका उनीसँग नेपाल समाचारपत्र,हिमालय टाईम्स,आदर्श समाज दैनिक,घटना र विचार साप्ताहिक,नेपालवाणि साप्ताहिकको जिल्ला संवाददता र तनहुँ आवाजको उपसम्पादक एवम् नवव्यासवाणी साप्ताहिकको सम्पादक भएर काम गरेको बस्नेतसंग अनुभव छ ।
नेपाल पत्रकार महासंघ रासस शाखाको सभापति र प्रेस युनियन तनहुँका सभापति समेत रहेका बस्नेत रासस पत्रकारिता पुरस्कार,पोखरा रोयल सहकारी क्षेत्रीय पत्रकारिता पुरस्कार,आरसी कृषि पत्रकारिता पुरस्कार,जीपी कोइराला सक्रिय पत्रकारिता पुरस्कारलगायतबाट यसअघि पुरस्कृत भइसकेका छन् ।
प्रजातन्त्र सेनानी एवम् नेपाली कांगे्रसका नेता सूर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतना देवी अधिकारीको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरिएको हो । उनका छोरा तथा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सो पुरस्कार स्थापना गरेका हुन् । आगामी जेठ ५ गते नेपाल प्रेस युनियन नवलपुर जिल्ला शाखाको ११ औँ अधिवेशनका अवसरमा उक्त पुरस्कार प्रदान गरिने गैँडाकोट नगरपालिका प्रमुख अधिकारीले जानकारी दिए ।
यसअघि सो पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष किशोर नेपाल, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षय धर्मेन्द्र झा,नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिव रामजी दाहाल,नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले र पूर्व महासचिव पोषण केसीलगायतका पत्रकार सम्मानित भइसकेका छन् ।

सम्बन्धित समाचार