शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती नगरपालिकाले सरकारी सेवा सुविधा लिने सबै कर्माचारीहरु र जनप्रतिनिधिहरुलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गराउन आग्रह गरेको छ ।नगरपालिकाले सरकारी सेवा सुविधा लिने सबै कर्माचारीहरुका साथै जनप्रतिनिधिहरुलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालय मै भर्ना गराउन आग्रह गरेको हो ।
नगर शिक्षा ऐन अनुसार नगरबाट तलव भत्ता लिने सबै सरकारी कर्मचारीहरु र जनप्रतिनिधिहरुलाई आफ्ना विद्यालय उमेरका छोराछोरीहरुलाई सामुदायिक विद्यालय मै भर्ना गर्न आग्रह गरिएको नगर शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।उनका अनुसार सरकारी सेवा सुविधा लिने सबै कर्माचारीहरु र जनप्रतिनिधिहरुलाई आफ्ना विद्यालय उमेरका छोराछोरीहरुलाई सामुदायिक विद्यालयहरु मै भर्ना गराएर विवरण नगर शिक्षा शाखामा उपलब्ध गराउन आग्रह गरिएको छ ।
बागमती नगरपालिकाले २०७५ मा नगरको शैक्षिक गुणस्तर सुधार गर्ने उद्येश्य सहित नगर शिक्षा ऐन २०७५ लागु गरेको थियो । सोही ऐनको दफा ४१ को उपदफा १ अनुसार नगरका सम्पुर्ण सरकारी कर्मचारीहरु र जनप्रतिनिधिहरुका आफ्ना बालबालिका नगरकै सामुदायिक विद्यालयहरुमा भर्ना गर्ने गरी नगरका सरकारी कर्माचारीहरु र जनप्रतिनिधिहरुले सामुहिक सपथ ग्रहण नै गरेका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । उनका अनुसार नगर शिक्षा ऐन २०७५ लागु गरेपछि आफ्ना बालबालिकाहरु अन्य निजि विद्यालयमा पढाउने र सामुदायिक विद्यालयमा जागिर खाने कर्मचारी शिक्षक शिक्षिकाहरुलाई नीयमन गर्न सहज भएको हो ।
नगर शिक्षा ऐन २०७५ कार्यन्वयनमा आएसँगै नगरका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर तथा भौतिक संरचना समेत सुधार भएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिइन् । उनका अनुसार नगरका २५ वटै सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधार भएपछि बालबालिकाको आकर्षण समेत बढेको छ । बागमती नगरपालिकाका २५ वटै सामुदायिक विद्यालयहरुमा अहिले बालबालिका दुई गुणाले बढेका नगर शिक्षा शाखाले जनाएको छ ।