शंखर पहाडी(गौरब)
सर्लाहीको हरिपूर्वा नगरपालिकाका विभिन्न राजनीतिक दलहरुले नगरप्रमुखको कदमविरुद्ध आन्दोलन सुरु गरेका छन् । हरिपुर्वाका राजनीतिक दलका नेताहरु सर्वदलिय सङ्घर्ष समिति नैबनाए र नौ बुँदे माग राख्दै नगर प्रमुख विनोद साह तेलीको काम कार्बाहीको विरोध गरेका हुन ।
नेकपा एमाले,नेकपा(माओवादी केन्द्र)लगायतका दलले नगरप्रमुख साहको विरुद्धमा आन्दोलन सुरु गरेका हुन् । उनीहरुले आइतबार बजार क्षेत्रमा नाराबाजी गर्दै कोण सभा गरेका थिए । सोमबार दोस्रो दिन हरिपूर्वा बजार र यातायात ठप्प पारे ।
नगरपालिकाको प्रशासनिक भवन हरिपूर्वा बजारमा रहेको मठको जग्गामा बनाउन लागिएको भन्दै एमाले,माओवादी केन्द्रलगायतका दलहरुले सर्वदलिय सङ्घर्ष समिति गठन नै गरेर आन्दोलन सुरु गरेका हुन् ।
नगरपालिकाको आफ्नै जग्गा हुँदाहुँदै मठको जग्गामा प्रशासनिक भवन बनाउन खोजेकाले त्यसको विरुद्ध आन्दोलन सुरु गरेको एमालेका नेता विकाउ यादवले बताए । अहिले भाडाको घरबाट सञ्चालन भइरहेको नगरपालिकालाई प्रशासनिक भवन निर्माण गर्न गत वर्ष एक जग्गादाताले १२ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । उनका अनुसार नगरप्रमुख साह र उनी निकटका मानिसले सडकमा परेको घर नभत्काउँदा हरिपूर्वा बजार क्षेत्रमा बाँके–सङ्ग्रामपुर सडक निर्माण हुन नसकेको आरोप लगाउँदै यो समस्या समाधान गर्न माग समेत गरिएको छ । सङ्घर्ष समितिले केश्वर गरिब जनता माध्यमिक विद्यालयको जग्गा खोजी हुनुपर्ने,प्रहरी चौकी हरिपूर्वा पनि प्रहरीको आफ्नै जग्गामा बनाउनुपर्ने माग अघि सारेको छ ।
नगरपालिकाको प्रशासनिक भवन निर्माण नहुञ्जेल मठको जग्गामा टहरा निर्माण गरी विषयगत शाखाहरु राख्न लागिएको नगर प्रमुख साहले बताए । उनले सर्वदलिय सङ्घर्ष समितिले अनावश्यक आन्दोलन गरेर अराजकता निम्त्याउने काम गरेको आरोप लगाएका छन् ।
नगर प्रमुख साहले आइतबार नै आन्दोलित पक्षलाई राखेर प्रमुख जिल्ला अधिकारी मार्फत छलफल गर्ने प्रयास गरे पनि छलफलमै नआएको बताए । नगरप्रमुख साहले नगरप्रमुख र कार्यपालिकाले नगर चलाउने की ः कहीँ नभएको सर्वदलिय संर्घष समितिले नगर चलाउने ? भन्दै आक्रोस व्यक्तगरे ।
फरक–फरक राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिबीचको आपसी विवादले थिलथिलो भएको हरिपूर्वा नगरपालिकामा आर्थिक वर्ष २०७९÷०८० सुरु भएको आठ महिना बितिसक्दा पनि कुनै योजना सञ्चालन हुन सकेका छैनन् । राजनीतिक किचलोका कारण नगरको विकास हुन नसकेको भन्दै हरिपूर्वाका स्थानीय चिन्तीत देखिएका छन् ।