संसद् अधिवेशन बोलाउने विषयमा राष्ट्रपति–सभामुखबीच संवाद

743 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच संसद्को अधिवेशन आह्वान तथा सङ्घीय संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ।

शुक्रबार शीतल निवासमा भएको भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदीय गतिविधि र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति तथा सभामुखको सचिवालयले जनाएको छ।

भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गत दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गर्न लागिएको विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो।

त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको उपलब्धिबारे पनि सभामुखले जानकारी गराउनुभयो।

भेटमा संसद्को अधिवेशन बोलाउने विषयले समेत प्राथमिकता पाएको थियो। राजनीतिक दलहरूसँगको छलफलमा संसद्लाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव आएको सभामुख अर्यालले राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो।

यसैबीच, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभाका अन्य पदाधिकारीसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि जानकारी गराइएको थियो।

राष्ट्रपति पौडेलले संसद्मा व्यापक बहस र विचारविमर्श हुनु लोकतन्त्रका लागि सकारात्मक भएको बताउनुभयो। संसद्मा हुने छलफलले लोकतान्त्रिक प्रणालीलाई थप मजबुत बनाउने उल्लेख गर्दै उहाँले सरकारका कामकारबाहीप्रति पनि चासो व्यक्त गर्नुभएको थियो।

पछिल्लो समय विपक्षी दलहरूले संसद्को बैठक बोलाउन सरकारमाथि दबाब दिइरहेका छन्। अर्कोतर्फ सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै राजनीतिक वृत्तमा बहस भइरहेका बेला राष्ट्रपति र सभामुखबीच भएको यो भेटलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ।

भेटमा अन्य समसामयिक राजनीतिक तथा संसदीय विषयमा समेत विचार आदानप्रदान भएको सभामुखको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार