काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको हो।
दुई दिने औपचारिक भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका मिश्रीले प्रधानमन्त्री शाहसँगको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी गरेका थिए।
भेटका क्रममा भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा दुई देशबीचको आपसी हित, व्यापार, कनेक्टिभिटी तथा सांस्कृतिक सम्बन्धका विविध पक्ष समेटिएका थिए।
नेपाल र भारतबीच बाँकी रहेका द्विपक्षीय विषयमा समझदारी कायम गर्न तथा उच्चस्तरीय संवादलाई निरन्तरता दिन मिश्रीको भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
यस भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।