काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक संगठनका विषयमा छलफल गर्न पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो। बैठकमा सरकारका पछिल्ला गतिविधि, प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनको निर्णय तथा पार्टीभित्र देखिएका विभिन्न विषयमा छलफल हुने बताइएको छ।
सरकारले बुधबार दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि कांग्रेसले यस विषयमा पार्टीको धारणा तय गर्न छलफल गर्न लागेको हो।
त्यसैगरी, हालै सार्वजनिक भएको इनम सापकोटाको अडियो प्रकरण पनि बैठकको छलफलको विषय बन्ने देखिएको छ। उक्त अडियोमा कांग्रेस सभापति गगन थापाले पार्टीलाई वैधानिकता दिलाउन १८ करोड रुपैयाँ खर्च गरेको प्रसंग सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा भइरहेको छ। कांग्रेसले भने यसलाई सरकारको नियोजित षड्यन्त्रको संज्ञा दिँदै आएको छ।
बैठकमा पार्टीको संगठनात्मक अवस्था, जिल्ला तथा प्रदेश तहमा बाँकी रहेका अधिवेशन र पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँटबारे पनि छलफल हुने जनाइएको छ।
कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले बैठक औपचारिक नभई समसामयिक विषयमा अनौपचारिक छलफलका लागि बोलाइएको जानकारी दिएकी छन्।
त्यस्तै, सहमहामन्त्री मनोजमणि आचार्यका अनुसार पार्टी संगठनका समसामयिक विषय तथा बाँकी अधिवेशनका विषयमा महामन्त्री र सहमहामन्त्रीहरूबीच छलफल हुनेछ।
यसअघि कांग्रेसले पत्रकार पक्राउ तथा सञ्चारमाध्यममाथि भएको हस्तक्षेपलगायतका विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक तत्काल बोलाउन आग्रह गरेको थियो।