काठमाडौं । लामो समयदेखि बस्न नसकेको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
यसअघि गत असोज ३० गते मन्त्रिपरिषद्को बैठक बसेको थियो। त्यसयता १८ दिनसम्म बैठक बस्न नसक्दा सरकारका नियमित कामकारबाही तथा महत्वपूर्ण निर्णय प्रक्रियाबारे चासो बढेको थियो।
दशैँअघि नै मन्त्रिपरिषद् बैठक नियमित हुन नसकेको विषयले राजनीतिक वृत्तमा चर्चा पाएको थियो। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच केही विषयमा सहमति जुट्न नसकेको चर्चासमेत सार्वजनिक भएको थियो।
आजको बैठकलाई लामो अन्तरालपछि सरकारको नियमित कार्यसम्पादन पुनः अघि बढाउने दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव, प्रशासनिक विषय तथा समसामयिक सरकारी कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ।