अपराह्नपछि मौसममा सुधार आउने पूर्वानुमान, वर्षा र हिमपात क्रमशः घट्ने

932 Shares

काठमाडौँ । अर्नब चक्रवातको अवशेषका रूपमा विकसित न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै जाने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसममा क्रमिक सुधार आउने पूर्वानुमान गरेको छ।

महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपाल नजिक रहेकाले देशका अधिकांश भूभागमा वर्षा र हिमपात भइरहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ।

त्यस्तै, मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले केही समयअघि विशेष मौसम बुलेटिन जारी गर्दै मौसमी प्रणालीको प्रभावले अपराह्नसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ।

यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

अपराह्नपछि मौसमी प्रणाली कमजोर हुँदै जाने भएकाले वर्षा र हिमपातको गतिविधि क्रमशः घट्ने तथा मौसममा सुधार आउने महाशाखाको आकलन छ।

सम्बन्धित समाचार