काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो नाफा २४.४८ प्रतिशतले वृद्धि गरेको छ। बैंकले असोज मसान्तसम्म २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो। यस वर्ष ब्याज आम्दानीमा भएको वृद्धि र कर्जा नोक्सानीबापत छुट्याउनुपर्ने रकम घटेका कारण बैंकको नाफामा सुधार आएको हो।
बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म कर्जा नोक्सानी व्यवस्थापनका लागि ४८ करोड ८३ लाख रुपैयाँ छुट्याएको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब १ करोड रुपैयाँ रहेको थियो।
कर्जा नोक्सानीबापत छुट्याउनुपर्ने रकम घट्नुले बैंकको खुद नाफा बढाउन सहयोग गरेको देखिन्छ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ। गत वर्ष १५ रुपैयाँ ५१ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्ष बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ।
यसले बैंकको सेयरधनीले प्रत्येक सेयरबाट प्राप्त गर्ने आम्दानीमा वृद्धि भएको देखाउँछ।
बैंकको खराब कर्जा अनुपातमा समेत सामान्य सुधार देखिएको छ। गत वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात अहिले घटेर ४.७९ प्रतिशतमा झरेको छ।
त्यस्तै, बैंकको कोष लागत पनि ३.९२ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा आएको छ। कोष लागत घटेसँगै बैंकको आधार दरमा समेत सुधार भएको छ। पछिल्लो तीन महिनाको औसत आधार दर ४.६१ प्रतिशत कायम भएको बैंकको विवरणमा उल्लेख छ।
बैंकका अधिकांश वित्तीय सूचकमा सुधार देखिए पनि प्राथमिक पुँजीकोष अनुपात भने घटेको छ। गत वर्ष १०.४१ प्रतिशत रहेको यस्तो अनुपात अहिले ९.३५ प्रतिशतमा झरेको छ।
बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ७ करोड रुपैयाँ रहेको छ।