काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय टुल्स ब्रान्ड फ्रीमांसको नेपालका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
भारतीय उपमहाद्वीपमा मापनसम्बन्धी उपकरण उत्पादन गर्दै आएको एफएमआई लिमिटेडअन्तर्गतको फ्रीमांसले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने उद्देश्यसहित ऐरीलाई ब्रान्ड एम्बेसडर बनाएको हो।
यो सहकार्यलाई कम्पनीले नेपालमा आफ्नो बजार विस्तार अभियानको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। ऐरीसँगको साझेदारीमार्फत नेपाली उपभोक्ता, खुद्रा विक्रेता तथा व्यावसायिक साझेदारसँगको सम्बन्ध थप मजबुत बनाउने कम्पनीको लक्ष्य छ।
फ्रीमांसले मापन टेप, स्पिरिट लेभल, मापन चक्का, ह्यान्ड टुल्स, प्रेसिजन मापन उपकरण, डिजिटल मापन उपकरण तथा पावर टुल्सका सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ।
कम्पनीका अनुसार क्रिकेट मैदानमा ऐरीले देखाउँदै आएको खेल कौशल, निरन्तरता, मेहनत र प्रतिस्पर्धात्मक भावनाले ब्रान्डको पहिचानसँग मेल खाने भएकाले उनलाई नेपाली बजारको प्रतिनिधिका रूपमा छनोट गरिएको हो।
यस सहकार्यबारे प्रतिक्रिया दिँदै एफएमआई लिमिटेडका कार्यकारी निर्देशक साहिल नायरले नेपाललाई कम्पनीका लागि महत्त्वपूर्ण रणनीतिक बजारका रूपमा लिएको बताए। उनले नेपाली बजारलाई बुझ्ने र ग्राहक तथा व्यावसायिक साझेदारको विकासमा योगदान गर्ने कम्पनीको लक्ष्य रहेको उल्लेख गरे।
त्यस्तै, दीपेन्द्र सिंह ऐरीले फ्रीमांससँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै ब्रान्डका उत्पादनलाई नेपाली उपभोक्ता तथा व्यवसायीमाझ परिचित गराउन योगदान गर्ने अपेक्षा राखेका छन्।
कम्पनीले ऐरीसँगको सहकार्य दीर्घकालीन र अर्थपूर्ण हुने विश्वास व्यक्त गरेको छ।