नागढुङ्गा सुरुङमार्गमा सवारीसाधनसँग शुल्क असुली सुरु, कारलाई ६५ रुपैयाँ

512 Shares

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक दस्तुर संकलन गर्न सुरु गरिएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई तोकिएको दरअनुसार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो।

नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार काठमाडौं भित्रिने र बाहिरिने सबै प्रकारका सवारीसाधनबाट नेपाल राजपत्रमा प्रकाशित वर्गीकरणअनुसार दस्तुर संकलन गरिनेछ।

निर्धारित शुल्कअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

सुरुवाती चरणमा यात्रु तथा सवारी चालकले नगद र क्यूआर कोडमार्फत दस्तुर भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा शुल्क संकलन गर्ने तयारीसमेत भइरहेको आयोजना प्रमुख नेपालले जानकारी दिएका छन्।

सुरुङमार्गमा खटिएका सेवा प्रदायकका कर्मचारीले सवारीसाधनबाट दस्तुर उठाउनेछन्। यसरी संकलन भएको रकम सडक बोर्ड नेपालको खातामा जम्मा गरिनेछ।

दस्तुर संकलनको सञ्चालन तथा अनुगमनको जिम्मेवारी सडक बोर्ड नेपाल र सडक विभागलाई दिइएको छ।

सम्बन्धित समाचार