काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने घटनालाई ‘राज्य आतंक’ को संज्ञा दिँदै प्रधानमन्त्री बालेन्द्र शाहसँग सार्वजनिक माफी माग्न आग्रह गरेका छन्।
नेपाल प्रेस, नयाँ पत्रिका दैनिकलगायत सञ्चारगृहमा प्रहरीले गरेको धरपकडप्रति आपत्ति जनाउँदै पुनले उक्त घटना संविधानप्रदत्त प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको बताएका हुन्।
पत्रकारलाई पक्राउ गरेर पछि रिहा गर्दैमा घटनाको गम्भीरता समाप्त नहुने उनको भनाइ छ। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले पत्रकार पक्राउ प्रकरणपछि प्रधानमन्त्रीको सचिवालय, सञ्चारमन्त्री तथा सत्तारूढ दलका प्रवक्ताले दिएका अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाएका छन्।
‘अझ संविधानको ठाडो उल्लङ्घन गर्दै मच्चाइएको राज्य आतंकपछि प्रधानमन्त्रीको सचिवालय, सञ्चार मन्त्री, सत्तारुढ दलका प्रवक्ताले दिएको अभिव्यक्ति उदेकलाग्दो छ। प्रधानमन्त्री र सत्तारुढ दलका नेतालाई थाहै नहुनेगरी यो देशको सुरक्षा निकाय कसले परिचालन गरेको छ ? नेपाल प्रहरीका प्रवक्ताले प्रधानमन्त्री कार्यालयको चासोपछि पत्रकार पक्राउ गरेको स्पष्टीकरण दिएका छन्,’ पुनले लेखेका छन्।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा राजनीतिक दल र सरकारबीच पूर्ण रूपमा अलग रहेको व्यवहार गर्न नमिल्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीले सरकार मातहतका निकायबाट भएका कामकारबाहीको जिम्मेवारी लिनुपर्ने बताएका छन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ दलका सभापतिले घटनाको जिम्मेवारी लिँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।
‘यस घटनाको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापतिले लिँदै सार्वजनिक रूपमा माफी माग्ने र आइन्दा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाउनु पर्दछ,’ उनले भनेका छन्।
पुनले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पत्रकारले स्वतन्त्र रूपमा समाचार लेख्न र प्रकाशन गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
पत्रकार पक्राउ प्रकरणलाई लिएर विभिन्न राजनीतिक दल, पत्रकारसम्बद्ध सङ्घसंस्था तथा सञ्चार क्षेत्रका व्यक्तिहरूले विरोध जनाउँदै आएका छन्।