पत्रकार पक्राउ प्रकरणमा विश्वप्रकाशको प्रश्न– निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने?

680 Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना टुंगिन नसक्ने उल्लेख गर्दै उनले प्रहरीलाई पक्राउको निर्देशन कसले दिएको थियो भन्ने विषय सार्वजनिक गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले पत्रकार रिहा भएपछि पनि घटनाको कारण र त्यसमा संलग्न पक्षबारे स्पष्ट जवाफ आउनुपर्ने बताएका हुन्।

‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइन। यस्तो किन गरियो, निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने? यो मुख्य प्रश्नको जवाफ जरुरी छ,’ उनले लेखेका छन्।

केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतंक सिर्जना गरिएको घटनाको स्मरण गराउँदै शर्माले उक्त घटनाका दोषी पहिचान गरी सार्वजनिक गर्न सरकारले चासो नदेखाएको आरोपसमेत लगाएका छन्।

यसपटक सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री कार्यालयले आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएको प्रसंग उल्लेख गर्दै उनले सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका छन्।

‘प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन, प्रश्न मुलुकको चौथो अंगमाथि यस्ता हरकत हुँदा सरकार सरकारका रूपमा देखिने, भेटिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो,’ शर्माले भनेका छन्।

सत्तारूढ दलले पत्रकारको गिरफ्तारी गैरकानुनी भएको भन्दै प्रतिक्रिया दिनुलाई सकारात्मक रूपमा लिएका शर्माले सरकारको जिम्मेवारी प्रतिक्रिया दिनुमा मात्र सीमित हुन नहुने बताएका छन्।

उनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्रमा उल्लेख गरिएको प्रेस स्वतन्त्रताको प्रतिबद्धता व्यवहारमा पनि लागू हुनुपर्नेमा जोड दिएका छन्।

‘सत्तारूढ पार्टीको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रतालाई सरकारले समर्थन मात्रै गर्छ कि रक्षा पनि गर्छ?’ भन्दै उनले सरकार र सत्तारूढ दलको भूमिकामाथि प्रश्न गरेका छन्।

शर्माले आफूहरू स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको उल्लेख गर्दै गलत तथा भ्रमपूर्ण समाचारको खण्डन र आवश्यक कानुनी कारबाहीका लागि निश्चित विधि रहेको बताएका छन्।

‘संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुण्ड्याउने गैरकानुनी धन्दा बन्द गरौँ,’ उनले लेखेका छन्।

पत्रकार पक्राउ प्रकरणमा निर्देशन दिने पक्षको पहिचान र घटनाको जिम्मेवारी निर्धारण हुनुपर्ने शर्माको माग छ।

सम्बन्धित समाचार