वर्षाले एनपीएलका दुवै खेल अन्योलमा, टिकटको रकम फिर्ता वा अर्को खेल हेर्न दिने तयारी

911 Shares

काठमाडौँ । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) का आज निर्धारित दुवै खेल प्रभावित भएका छन्। खेल सञ्चालन हुन नसके टिकट काटेका दर्शकलाई रकम फिर्ता गर्ने वा अर्को दिनको खेल हेर्न पाउने व्यवस्था मिलाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले छलफल अघि बढाएको छ।

आज पहिलो खेलमा दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने तालिका थियो। त्यस्तै, दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच हुने तय भएको थियो।

तर, निरन्तरको वर्षाका कारण मैदान दलदल बनेपछि दुवै खेल सञ्चालनमा अन्योल उत्पन्न भएको हो।

क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले मैदानको अवस्थाका कारण खेल सञ्चालनमा समस्या भएको बताउँदै साँझको खेल भने हुन सक्ने आशा व्यक्त गरेका छन्। उनका अनुसार दुवै खेल सञ्चालन हुन नसके टिकट व्यवस्थापनबारे आवश्यक निर्णय गरिनेछ।

नेपाल प्रेससँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय अभ्यासमा खेल रद्द हुँदा टिकटको रकम फिर्ता गर्ने प्रचलन नरहेको उल्लेख गरे पनि विशेष परिस्थितिमा दर्शकलाई सहज हुने विकल्प खोज्नुपर्ने आफ्नो धारणा रहेको बताए।

उनका अनुसार टिकट काटेका दर्शकलाई आफूलाई अनुकूल अर्को दिनको खेल हेर्न पाउने व्यवस्था मिलाउने वा टिकटको रकम फिर्ता गर्ने विकल्पमा छलफल भइरहेको छ।

'टिकट काटेका दर्शकलाई अर्को खेल हेर्ने व्यवस्था मिलाउने कि भन्ने पनि छ। रकम फिर्ताका लागि पनि सहज हुनुपर्‍यो। सोही टिकटबाट दर्शकले आफूले चाहेको अर्को दिनको खेल हेर्न मिल्ने व्यवस्था गर्न सकिन्छ,' खड्काले भने।

उनले वर्षाका कारण खेल हुन नसके सम्बन्धित दुवै टोलीलाई एक–एक अंक प्रदान गरिने पनि जानकारी दिएका छन्।

दर्शकको टिकट व्यवस्थापन र खेल सञ्चालनबारे क्यानको अन्तिम निर्णय भने आउन बाँकी रहेको छ।

सम्बन्धित समाचार