काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालमा गेमिङ तथा सूचना प्रविधि (आईटी) क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न सरकारले नीतिगत पुनरावलोकन र आवश्यक गृहकार्य सुरु गरेको बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालीले विकास गरेका गेमिङ एपहरूले विश्व बजारमा उल्लेखनीय सफलता हासिल गरिरहेको उल्लेख गर्दै यस क्षेत्रका समस्या समाधान र प्रवर्द्धनका लागि सरकारले पहल गरिरहेको जानकारी दिएका हुन्।
उनका अनुसार विश्वभर लोकप्रिय लुडो गेम करिब २० करोड पटक डाउनलोड भएको छ भने कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएको छ। यी दुवै गेम नेपालीले नै विकास गरेको स्मरण गराउँदै उनले नेपालमा सयौँ युवा गेम विकासको क्षेत्रमा सक्रिय रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले गेमिङ डेभलपरहरूसँग छलफल गरी उनीहरूले भोगिरहेका समस्या, चुनौती र आवश्यकताबारे जानकारी लिएको पनि उल्लेख गरेका छन्।
नेपालबाटै विश्वस्तरीय 'ग्लोबल युनिकर्न' कम्पनी स्थापना गर्न सकिने वातावरण निर्माण गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ। त्यसका लागि आईटी उत्पादन तथा निर्यातको सम्भावनालाई ध्यानमा राख्दै कम्पनीहरूले सहज रूपमा आम्दानी गर्न र पुनः लगानी गर्न सक्ने वातावरण बनाइने उनले बताएका छन्।
यसका लागि कर प्रणालीलाई सहज बनाउने, नीतिगत सुधार गर्ने तथा अन्तर्राष्ट्रिय आम्दानीसँग सम्बन्धित कडा र परम्परागत नियमलाई खुकुलो बनाउने तयारी भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
त्यस्तै, गेमिङ तथा समग्र आईटी क्षेत्रको प्रवर्द्धनका लागि गेम ज्याम, स्टार्टअप इभेन्ट्स र ह्याकाथनजस्ता कार्यक्रमहरूमा लगानी गरिने उनले बताएका छन्।
आईटी क्षेत्रको विकासका लागि नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र निजी क्षेत्रबीच निरन्तर तथा नियमित छलफलको वातावरण निर्माण गरिने पनि प्रधानमन्त्रीको भनाइ छ।
नेपालको आईटी तथा गेमिङ क्षेत्र सम्भावनायुक्त अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपाली प्रतिभालाई विश्व बजारमा स्थापित गराउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।