पत्रकार पक्राउ र प्रहरी दबाबप्रति मिडिया लयर्स एसोसिएसनको आपत्ति, प्रेस स्वतन्त्रता रक्षा गर्न माग

827 Shares

काठमाडौं । समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने तथा प्रहरी कार्यालयमा उपस्थित हुन दबाब दिने कार्यप्रति मिडिया लयर्स एसोसिएसनले गम्भीर आपत्ति जनाएको छ। एसोसिएसनले यस्ता गतिविधि संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ।

एसोसिएसनका अध्यक्ष अधिवक्ता बाबुराम अर्यालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल प्रेस, दियो पोस्ट, नयाँ पत्रिका दैनिक र डीएनए खबरलगायत सञ्चारगृहमा सादा पोसाकका प्रहरी प्रवेश गरी पक्राउ पुर्जीबिनै पत्रकारमाथि धरपकड गर्ने प्रयास भएको उल्लेख गरेका छन्। त्यस्तै, केही पत्रकारलाई प्रहरी कार्यालयमा उपस्थित हुन दबाब दिइएको विषयप्रति पनि एसोसिएसनले आपत्ति जनाएको छ।

विज्ञप्तिमा नेपालको संविधानको धारा १९(१) ले सञ्चारमाध्यमबाट समाचार, लेख, सम्पादकीय तथा अन्य सामग्री प्रकाशन वा प्रसारण गर्न पूर्वप्रतिबन्ध लगाउन नपाइने व्यवस्था गरेको स्मरण गराइएको छ। समाचार लेखेकै आधारमा पत्रकारलाई अपराधीको व्यवहार गर्नु कानुनी शासन र प्रेस स्वतन्त्रताको मर्मविपरीत हुने एसोसिएसनको भनाइ छ।

कुनै समाचारको विषयवस्तु वा प्रकाशनलाई लिएर कानुनी प्रश्न उठेमा त्यसको निरूपण प्रचलित कानुन र स्थापित कानुनी प्रक्रियाअनुसार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

‘समाचार लेख्नु अपराध होइन र पत्रकारिता गर्नु राज्यविरुद्धको कसुर होइन,’ विज्ञप्तिमा भनिएको छ।

एसोसिएसनले पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने, सञ्चारगृहमा प्रहरी प्रवेश गराउने तथा धम्कीपूर्ण दबाब सिर्जना गर्ने गतिविधिले समग्र पत्रकारिता क्षेत्रलाई त्रसित बनाउने चेतावनी दिएको छ।

कानुन कार्यान्वयन गर्ने निकाय स्वयंले कानुनी अधिकार र प्रक्रियाको सीमा उल्लङ्घन गर्दै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु स्वीकार्य नहुने एसोसिएसनको निष्कर्ष छ।

उसले पत्रकारमाथि भइरहेका गैरकानुनी गतिविधि तत्काल रोक्न, सञ्चारकर्मीको संवैधानिक अधिकारको सम्मान गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार र सुरक्षा निकायसँग माग गरेको छ।

सम्बन्धित समाचार