देउवा समूहको महाधिवेशन खुलामञ्चमा, पदाधिकारी चयन राष्ट्रियसभा गृहमा

967 Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने निर्णय गरेको छ। समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी तयारी अघि बढाएको हो।

देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि काठमाडौंको खुलामञ्च बुकिङ गरिसकिएको छ। त्यसैगरी राष्ट्रियसभा गृह र भृकुटीमण्डपसमेत महाधिवेशन प्रयोजनका लागि बुक गरिएको छ।

निर्वाचन समितिले तय गरेको व्यवस्थाअनुसार महाधिवेशनको उद्घाटन समारोह, बन्दसत्र तथा केन्द्रीय सदस्य चयनका लागि मतदान खुलामञ्चमा हुनेछ। त्यस्तै, पार्टीका पदाधिकारी चयनका लागि भने राष्ट्रियसभा गृहमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको खानपान व्यवस्थापनका लागि भृकुटीमण्डप प्रयोग गरिने सदस्यसचिव कार्कीले जानकारी दिएका छन्।

यसैबीच, देउवा समूहले महाधिवेशनको तयारीस्वरूप गत १५ असोजदेखि वडा अधिवेशन सुरु गरिसकेको छ। समूहले आगामी १५ कात्तिकमा जिल्ला अधिवेशन गर्ने कार्यतालिका पनि तय गरेको छ।

महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक स्थल व्यवस्थापन तथा निर्वाचनसम्बन्धी तयारीलाई तीव्रता दिइएको समूहले जनाएको छ।

सम्बन्धित समाचार